७ बैशाख २०८१, शुक्रबार
Follow Us

नारायणगढ–मुग्लिन सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो, यात्रु र सवारीसाधन अलपत्र

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७४, बिहीबार ११:१२

चितवन । नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

सो ठाउँमा काठमाडौँबाट इलाम जान आउँदै गरेको ना६ख ७१२१ नंको यात्रुबाहक बस र बा१५च ९३८१ नंको स्करपियो पहिरोले पुरिएका थिए । बस त्रिशूलीमा खसेर बेपत्ता छ भने स्करपियो पहिरोमा पुरिएको छ । पहिरो खसेको देखेपछि चालकले गाडी रोकेर चालक र यात्रु भागेर बाँच्न सफल भएका थिए । घटनास्थल मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ कालीखोला नजिकै पर्छ ।

त्यसैगरी उक्त सडकखण्डको चेपाङडाँडामा गएराति रोकिराखेका दुई ट्रक माथिबाट झरेको लेदोले पुरिएका छन् । ट्रक चालक भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दुईकिलो, तीनकिलो, सेतीदोभान, घुमाउनेलगायतका १० भन्दा बढी ठाउँमा ठूला पहिरा खसेका छन् । अन्य ठाउँमा पनि सानातिना पहिरो खसेको भए पनि यकिन तथ्यांक भने आउन नसकेको उहाँले बताउनुभयो ।

पानी परिरहेकाले पहिरो खस्ने क्रम जारी रहेको छ । जसका कारण पहिरो पन्छाउनसमेत कठिन भएको खनालले बताउनुभयो ।

पहिरो पन्छाउन लोडर र एक्साभेटर गरी पाँचवटा साधन परिचालन गरिएको छ । ठाउँठाउँमा पहिरो खसेकाले बीचबीचमा सवारीसाधन अलपत्र परेका छन् । बुधबार साँझबाट पहिरो खसेर सडक रोकिएपछि यात्रु अलपत्र परेका छन् ।

स्तरोन्नति भइरहेको सो सडकमा वर्षा लागेसँगै पहिरो खसेपछि सरकारको समेत ध्यानाकृष्ट भएको छ । हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सडकखण्डको अवलोकन गर्दै निर्माण कार्य छिटो सक्न निर्देशन दिनुभएको थियो ।