१५ चैत्र २०८०, बिहीबार
Follow Us

गौरी जोशी उम्मेदवार बन्न योग्य : एनआरएन विशेष समिति

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७४, आईतवार ००:४०

लन्डन । गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा गौरी जोशी उम्मेदवार बन्न योग्य भएको विशेष समितिले ठहर गरेको छ । गैरआवासीय नेपाली संघको गत आइतवार फ्रयाङफर्डमा सम्पन्न बैठकले गठन गरेको विशेष समितिले जोशी एनआरएन अमेरिकाको उम्मेदवार बन्न योग्य रहेको निष्कर्ष निकालेको हो ।

अमेरिकास्थित एनआरएनको निर्वाचन समितिले अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको नाम हटाइएपछि विवाद उत्पन्न भएको थियो । उक्त विवाद समाधानका लागि संघले छानविन गरी प्रतिवेदन बुझाउन संरक्षक दिल गुरुङ, सल्लाहाकार विश्वआर्दश पण्डित र पूर्वप्रवक्ता डा. हेमराज शर्मा रहेको समिति गठन गरेको थियो ।

समितिका सदस्य विश्वआर्दश पण्डितका अनुसार समितिले शनिवार साँझ आफ्नो पूर्ण प्रतिवेदन गैरआवासीय नेपाली संघ समक्ष पेश गरेको हो । समितिका तीनै जना सदस्यले संकलन गरेको राय र प्रमाणका आधारमा समितिले अन्तिम निष्कर्ष निकालेको बताएको छ ।

समितिले गैरआवासीय नेपाली संघ अमेरिकाको स्थापान र अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको योग्यताका सम्वन्धमा करिब ३० पेज लामो प्रतिवेदनमा ३२ वटा दस्तावेज सहित ४ सय पेज भन्दा बढीको प्रमाण जुटाएको बताएको छ । समितिले आफ्नो प्रतिवेदन पेश गर्नुअघि अध्यक्ष शेष घलेलगायतका गैरआवासीय नेपाली संघका पदाधिकारीसमेतसँग परार्मश गरेको थियो ।

समितिको प्रतिवेदनपछि गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनसम्बन्धी विवाद अन्त्य हुने अपेक्षा गरिएको छ । समितिको प्रतिवेदन बमोजिम अब जोशीलाई समेत निर्वाचनमा समावेश गरेर मात्र एनआरएन अमेरिकाको निर्वाचन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।