७ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौंका मेयर र उपमेयरलाई २ करोडको गाडी सुविधा

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार ०७:४९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको फ्रच्युनर र उपमेयर हरिप्रभा खड्कीका लागि झन्डै ८० लाख रुपैयाँ पर्ने गाडी झिकाइएको छ । जनप्रतिनिधिका लागि मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका शाक्यले मेयर र उपमेयरका लागि विलासी गाडी झिकाएका हुन् । मेयर र उपमेयरका लागि गाडी सुविधावापत झन्डै २ करोड रुपैयाँ खर्च भएको छ । यो वर्ष महानगरले जनप्रतिनिधिका लागि गाडी किन्न मात्रै ७ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
उक्त गाडी अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । त्रिपालले ढाकेर राखिएको गाडीको नम्बर प्लेटभने लिएको छैन् । नयाँ गाडी केही दिनमै मेयर शाक्यले प्रयोग गर्ने महानगर स्रोतले बताएको छ । मेयरलाई मात्र होइन, उपमेयर हरिप्रभा खड्गीलाई पनि ८० लाखको नयाँ गाडी मगाइएको छ । यो गाडी वीरगञ्ज भन्सारमा आइपुगेको स्रोतले बताएको छ ।
अनौठो त के भने केही समयअघि ढलमा परेर बालिकाको मृत्यु भएपछि प्रधानमन्त्रीले सडकको खाल्डाखुल्डी पुर्न भन्दा काठमाडौं मेयर शाक्यले नै वर्षामा खाल्डा पुर्दा जनताको करबाट तिरेको रकम खेर जान्छ भनेका थिए । तिनै मेयरले जनप्रतिनिधिका लागि गाडी सुविधावापत यो वर्ष सात करोड रुपैयाँ विनियोजन गरेका छन् ।