१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आजदेखि देशभरका चिकित्सकहरु आन्दोलनमा

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७४, बुधबार ०७:१६

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १७ औं दिनदेखि आमरण अनसनरमा बसेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको मागको समर्थन गर्दै मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक आजदेखि आन्दोलनमा उत्रने भएका छन् ।
सरकारी उदासिनताको विरोधमा उनीहरुले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका छन् सरकारी चिकित्सक संघ गोडानले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
संघको मंगलबार बसेको आकस्मिक बैठकले डा. केसीका मागमा ऐक्यबद्धता जाहेर गरेको हो । बैठकले डा.केसी आमरण अनसनमा बसेको लामो समयसम्म पनि माग पूरा गर्न सरकार संवेदनशील नभएको निष्कर्ष निकाल्दै दबाब दिने निर्णय गरेको हो । मुलुकभर प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय तहका अस्पतालसम्म करिब १ हजार ६ सय सरकारी चिकित्सक छन् ।
यसैबीच आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्यस्थिति झनै जटिल भएको छ । अनसन लम्बिँदै जाँदा स्वास्थ्यस्थितिमा जटिलता थपिँदै गएको उनको उपचारमा संलग्न चिकित्सक प्रा.डा.दिब्यासिंह शाहले जानकारी दिए । डा.केसीको अहिले घाँटी दुख्ने समस्यासमेत देखिएको छ । बोल्दा धड्कन बढ्ने गरेको र हातसमेत सुन्निएको छ । डा.केसीमा टाउको र जीउ दुख्ने, मांसपेसी बटारिने समस्या यथावत् छ । शरिरमा चाहिने आवश्यक तत्वसमेत कम हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।