१५ चैत्र २०८०, बिहीबार
Follow Us

संशोधन विधेयक तत्काल अघि बढाउने सहमति

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७४, शुक्रबार ०८:४५

काठमाडौं । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच संविधान संशोधन विधेयक तत्काल अघि बढाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ दल र राजपाका शीर्ष नेताहरुको बैठकले संसद्मा विचाराधीन संविधान संशोधन विधेयक तत्काल अघि बढाउने सहमति भएको हो ।

बैठकमा राजपाका नेताहरु संसद्ले गर्ने निर्णय स्वीकार गर्न तयार भएपछि सत्तारुढ दल पनि विधेयक अघि बढाउन सहमत भएका हुन् । बैठकपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संशोधन विधेयक निर्णयार्थ पेश गर्न राजपा तयार भएको जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी संसद्ले गर्ने निर्णय स्वीकार गर्न तयार भएपछि सरकारले अब चाँडै विधेयक अघि बढाउने नेता निधिले बताए । राजपाका नेता शरतसिंह भण्डारीले पनि संशोधन विधेयक अघि बढाउने सहमति भएको बताए ।

उनले संसद्मा विधेयकमाथि मतदान हुँदा आएको परिणामलाई स्वीकार गरेर आफूहरु जनतामा जाने बताए । नेता भण्डारीले सरकारले शहिद घोषणा, मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च र क्षतिपूर्तिको व्यवस्था गर्ने विश्वास व्यक्त गरे । सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउन सरकारलाई बाटो खोलिदिएपछि त्यसलाई सकारात्मक मान्दै राजपा पनि संविधान संशोधन विधेयक अघि बढाउन सहमत भएका हो ।