६ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकार महासंघको निर्वाचन कार्यक्रम सार्वजनिक

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७४, शनिबार ०६:४६

काठमाडौं । नेपाल पत्रकार महासंघको भदौ ४ देखि ६ गतेसम्म हुने २५ औं अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीउपर दाबी विरोध आजै १२ बजेसम्म गर्न सकिनेछ भने मतदाताको अन्तिम नामावली प्रकाशन शनिबार ४ बजे गर्ने निर्वाचन समितिको तयारी छ ।

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेहरुले उम्मेदवारी दर्ता भदौ ४ गते दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म गर्न सक्ने जानकारी निर्वाचन समितिले दिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते पौने ४ बजे प्रकाशित हुनेछ ।

उम्मेदवार उपरको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समेत समय दिइएको छ । निर्वाचन समितिले भदौ ४ गते अपराह्न ३ः४५ देखि १ घन्टाको समय दाबी विरोध तथा उम्मेदवारी फिर्ताका लागि दिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते बेलुका ५ बजे प्रकाशित हुनेछ । महासंघको नयाँ नेतृत्वका लागि भदौ ५ गते मतदान हुनेछ । मतदान समय बिहान ९ बजेदेखि ३ बजेसम्मका लागि तोकिएको छ ।