७ बैशाख २०८१, शुक्रबार
Follow Us

यस्तो छ– पत्रकार महासंघको अंक गणित

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७४, शनिबार १४:४५

काठमाडौं । भोलि आइतबारदेखि सुरु हुने नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । काठमाडौंको प्रज्ञा भवनमा हुने अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा छ । कांगे्रसमा आस्था राख्ने नेपाल पे्रस युनियन, माओवादी केन्द्रमा आस्था राख्ने पे्रस सेन्टर र जनमोर्चामा आस्था राख्ने प्रगतिशील पत्रकार संघबीच गठबन्धन भएको छ । यो गठबन्धनमा राजावादी पनि मिसिएको छ । यो गठबन्धनको नेतृत्व गोविन्द आचार्यले गरेका छन् । उनी माओवादी निकट हुन् ।
नेकपा एमालेसँग नजिक पे्रस चौतारी, मोहन बैद्य, बाबुराम, नेत्रविक्रम चन्द माओवादी, उपेन्द्र यादवको संघीय समाजवादी फोरमलगायतको समूहले अर्को प्यानल बनाएका छन् । यो समूहको नेतृत्व तीर्थ कोइरालाले गरेका छन् । आफूलाई स्वतन्त्र भन्न रुचाउने कोइरालालाई चौतारीले अघि सारेको हो ।
कूल ४६ पदका लागि प्रतिस्पर्धा हुने निर्वाचनमा दुवैतर्फका केही असन्तुष्टले अध्यक्षलगायत विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । झन्डै १५ सय प्रतिनिधले ४६ पदमा नेतृत्व चयन गर्ने छन् ।

यस्तो छ अंक गणित
आचार्यले नेतृत्व गरेको समूहमा पे्रस युनियनसँग ४ सय ९५ मत छ भने पे्रस सेन्टरसँग २ सय ६६, राजावादीको मत ५६ वटा छ भने प्रगतिशीलको १८ र राप्रपाको २ मत छ । यो सबै जोड्दा ८ सय ४९ मत हुन आउँछ ।
यता कोइरालाले नेतृत्व गरेको समूहमा पे्रस चौतारीसँग ५ सय ७२ मत छ भने विप्लप माओवादीसँग २८, नयाँ शक्तिको २५, बैद्य माओवादीको १५ र संघीय समाजवादीको १ मत रहेको छ । यसरी कूल जोड्दा ६ सय ५१ मत पुग्छ ।
यसरी सरसर्ती हिसाब गर्दा अध्यक्षमा गोविन्द आचार्यको प्यानलले १ सय ९८ मत बढी ल्याएर जित्ने देखिन्छ । तर यो सोझो हिसाबमा उम्मेदवारले मत नपाउने निश्चित जस्तै छ । यदि स्वतन्त्र उम्मेदवारी दिएका महासचिव उजिर मगरले नाम फिर्ता लिएनन भने दुवै पक्षको मत काटिन्छ । यद्यपि मगरले जित्ने सम्भावना छैन । जनजाति र माओवादी पक्षको मत उनले लिने अनुमान गरिएको छ ।
अध्यक्षको उम्मेदवारमा आचार्यभन्दा कोइरालालाई लोकप्रिय ठानिन्छ । नरम स्वभावका एमाले र राजावादीसँग कोइराला नजिक रहेको ठानिएको ठानिएको छ । आचार्य पक्षसँग गठबन्धन गरेका राजावादी समूहले अध्यक्षमा कोइरालालाई मत दिने अनुमान गरिएको छ । निर्णायक राजावादी समूहको रहेकाले अध्यक्षमा कोइरालाको पल्ला भारी अनुमान गरिएको छ ।
कोइरालाको उम्मेदवारीलाई लिएर चौतारीभित्र पनि मत विभाजन भएको बताइन्छ । यदि चौतारीको धेरै मत आचार्यलाई जान सक्ने विश्लेषण गरिएको छ ।