१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अतिसंवेदनशील मतदान केन्द्रमा सुरक्षा चुनौती

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७४, बिहीबार ०६:२७

वीरगञ्ज । आउँदो असोज २ गते हुने प्रदेश नं २ को स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी पर्सा जिल्लामा रहेका ७३ वटा अतिसंवेदनशील मतदान केन्द्र सुरक्षाको दृष्टिले चुनौतीपूर्ण रहेका छन् ।

नेपाल—भारतको सीमा क्षेत्र रहेको सो मतदान केन्द्रमा कुनै पनि आपराधिक क्रियाकलाप तथा अवाञ्छनीय गतिविधि हुनसक्ने तथा भारतीय आपराधिक व्यक्तिको घुसपैठ हुनसक्ने भएकाले सो क्षेत्रमा प्रवेश गर्ने भारतीय नागरिकमाथि कडा नजर राख्ने गरी भारतीय समकक्षीसँग सोबारेमा मौखिक कुराकानी भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

खुल्ला सीमाका कारण अवैध हतियार भित्रिन सक्ने सम्भावना बढी हुने भएकाले भारतीय सीमासँग जोडिएको मतदान केन्द्रका लागि थप सुरक्षा व्यवस्था गरिने भन्दै पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले राससलाई भन्नुभयो, भारतीय सुरक्षाकर्मीसँग केही दिनमै बैठक बसी निर्वाचनका दिन भारतीय पक्षले आफ्नो सिमानामा कडाइ गर्न हामीले अनुरोध गर्नेछौँ ।

बीस वर्षपछि भइरहेको स्थानीयतहको निर्वाचन भनेको सामान्य कुरा नभएर त्यसलाई सफल पार्नु भनेको अग्निपरीक्षासरह भएकाले शान्तिपूर्ण तरिकाले निष्पक्ष चुनाव गराउनु सबैको कर्तव्य भएको यस क्षेत्रका सुरक्षा अधिकारीको भनाइ रहेको छ ।

शुरुमा संविधानको अन्तरवस्तुमा असन्तुष्टि जनाउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि प्रदेश नं २ को स्थानीयतहको निर्वाचनमा भाग लिने सहमति जनाइसकेको छ भने चुनावमा भाग नलिने अन्य समूहबाट सुरक्षा खतरा हुने आँकलन गरी अतिसंवेदनशील मतदान केन्द्रमा सुरक्षा व्यवस्था बलियो पारिने अधिकारीले बताएका छन् ।

पर्सा जिल्लामा रहेका १६७ वटा मतदान केन्द्रमध्ये १५ वटा मतदान केन्द्र सामान्य, ७५ वटा मतदान केन्द्र संवेदनशील तथा ७३ वटा मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । अतिसंवेदनशील मतदान केन्द्र दुर्गम तथा भारतीय सीमासँग जोडिएका नेपाली गाउँमा रहेका छन् ।

यसैबीच, भयरहित वतावरणमा स्थानीयतहको निर्वाचन सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय, पर्साले बुधबारदेखि सात दिनभित्र हातहतियार बुझाउन सर्वसाधारणमा सूचना जारी गरी तोकिएकै समयमा हतियार बुझाउन सबैसँग आग्रह गरेका छन् ।

हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा ८ अनुसार प्रकाशित सूचनालाई अटेर गरी हातहतियार नबुझाउने व्यक्तिलाई पत्रमार्फत तथा त्यसपछि पनि हतियार नबुझाई अवैधरुपमा हतियार राख्नेलाई प्रचलित कानूनअनुसार कारबाही गरिने पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले राससलाई बताउनुभयो ।

निर्वाचनको समयमा सूचनाको आधार तथा खानतलासी गर्दा कसैको घरबाट दर्ता भएकै हतियार फेला परेमा अवैध हतियार राखेसरह मुद्दा चलाउने व्यवस्था कानूनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रदेश नं २ को स्थानीयतहको निर्वाचनको लागि जिल्ला प्रशासन कार्यालय, पर्साले यसअघि पनि बारम्बार हतियार बुझाउन सूचना जारी गरेपनि हतियार बुझाउनेको संख्या न्यून रहेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा ७७२ थान हतियार दर्ता भएको अभिलेखमा उल्लेख गरिएको छ भने ३७२ थान हतियार नवीकरण गरेको देखिन्छ । तर हालसम्म १९७ जनाले मात्र हतियार बुझाएका छन् ।

प्रदेश नं २ को स्थानीयतहको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर भयरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकारले कडा सुरक्षा व्यवस्था अवलम्बन गरेको सुरक्षा अधिकारीको भनाइ छ ।
– वीरेन्द्र कर्ण