१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सत्तारूढ तालमेलमा एमाले एक्लै भिड्दै

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७४, शनिबार ०५:०४

काठमाडौं । सत्तारूढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले २ असोजमा हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रदेश २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये केही स्थानीय तहमा सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुने नेताहरू बताउँछन् । केही स्थानमा भने स्थानीय अवस्थाअनुसार एमाले र मधेसवादी दल तथा अन्य साना दलबीच पनि तालमेल हुन सक्ने नेताहरू बताउँछन् ।

कांगेस नेता तथा निर्वाचन प्रचारप्रसार उपसमितिका संयोजक रमेश लेखकले दलहरूबीच तालमेलका विषयमा छलफल भइरहेको बताए । ‘तालमेलका विषयमा उच्च तहमा छलफल भइरहेको छ, कांग्रेसको तालमेलमा पहिलो प्राथमिकता सत्ता साझेदार माओवादी केन्द्र तथा दोस्रो प्राथमिकतामा राजपासँग हुन सक्छ,’ नेता लेखकले भने ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले परिवर्तनकारी शक्तिहरूसँग आफ्नो दलको तालमेल हुन सक्ने सम्भावना रहेको बताइन् । ‘परिवर्तनकारी शक्तिहरूसँग तालमेलको सम्भावना छ, सत्ता गठबन्धन भएकाले केही स्थानमा कांग्रेससँग पनि हुन सक्छ, केही स्थानमा एमाले र केहीमा मधेसवादी दलसँग पनि हुन सक्छ । स्थानीय आवश्यकता र अवस्थाअनुसार तालमेल हुन्छ,’ प्रवक्ता भुसालले भनिन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले भने प्रदेश २ को स्थानीय तह तेस्रो चरणको निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धामा उत्रने संकेत गरेका छन् ।

महासेठले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘हामी तालमेल गरे पनि वा एक्लै चुनाव लडे पनि ४५ प्रतिशतभन्दा माथि नै मत ल्याएर पहिलो शक्ति बन्छौं ।’ उनले कुनै पनि शक्तिले रोक्न खोजे पनि एमालेलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।

२ असोजको स्थानीय तह निर्वाचनमा कांग्रेससँग भने आफ्नो पार्टीले तालमेल नगर्ने उनले स्पष्ट पारे । एमालेले स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको बताएको छ ।

उता, निर्वाचन अभियानमा तराइमै रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले भने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा कुनै दलसँग कांग्रेसको तालमेलको जरुरत नभएको बताएका छन । वीरगंजमा कोणसभा तथा घरदैलो अभियानमा पुगेका नेता कोइरालाले राजधानीसँग कुरा गर्दै कांग्रेसको प्रदेश २ मा कुनै दलसँग तालमेलको आवश्यकता आफूले नदेखेको बताए ।‘प्रदेश २ को स्थानीय तह निर्वाचनमा कुनै दलसँग कांग्रेसको तालमेलको जरुरत मैले देख्या छैन, कांग्रेसका पक्षमा मधेसमा जनलहर छ, जनताको मतले कांग्रेसले जित्छ,’ नेता कोइरालाले भने ।

जिल्ला दौडाहामा नेता
स्थानीय तह निर्वाचनका लागि मतदाता फकाउन दलका नेता जिल्ला दौडाहामा छन् । कांग्रस नेता डा. शेखर कोइराला वीरगंज पुगेका छन् । उनले वीरगंजमा भएका कोणसभामा मतदाताहरूलाई कांग्रेसका पक्षमा मतदान गर्न अनुरोध गर्दै घरदैलोसमेत गरेका छन् ।

कांग्रेसमा उम्मेदवार टुंग्याउनै सकस
स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि दलहरूलाई उम्मेदवार टुंगो लगाउनै सकस भएको छ ।कांग्रेसले केही दिनदेखि उम्मेदवार छान्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक राख्दै आएको भए पनि अझैसम्म कोको उम्मेदवार हुने भन्ने टुंगो लगाउन सकेको छैन ।

कांग्रेसले प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सांसद, केन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, जिल्ला सभापतिका प्रतिस्पर्धीलगायतलाई केन्द्रमा नै राखेर बैठक बसिरहेको छ । कांग्रेसमा टिकट कसलाई दिने भन्ने अन्तिम निर्णय गर्ने अधिकार र विवाद मिलाउने अधिकार पूर्वमहामन्त्री विमलेन्द्र निधि र वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई दिएको छ ।

एमाले र माओवादी अन्तिम कसरतमा
एमालेले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताएको छ । एमालेको स्थायी कमिटी बैठक शनिबार बस्दै छ । एमाले मुख्यालय धुम्बाराहीमा बस्ने बैठका विषयमा प्रदेश २ को स्थानीय तह निर्वाचन केन्द्रित छलफल हुनेछ ।

एमाले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले प्रदेश २ का स्थानीय तह निर्वाचनका उम्मेदवारको अन्तिम टुंगो लगाउन, चुनावी रणनीतिलगायतका विषयमा बैठकमा छलफल हुने बताए । वीरगन्ज महानगरपालिका, कलैया उपमहानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका र जनकपुर उपमहानगरपालिकाको उम्मेदवारको अन्तिम टुंगो स्थायी कमिटी बैठकले गर्नेछ ।

गाउँपालिका र नगरपालिकाका उम्मेदवार प्रदेश संगठन कमिटीले टुंगो लगाउनेछ । अधिकांश ठाउँमा उम्मेदवार टुंगो लागिसकेको र केही ठाउँमा मात्रै बाँकी रहेकाले त्यस विषयमा छलफल भइरहेको एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश २ का सहसंयोजक नागेन्द्र चौधरीले बताए ।
माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले आफ्नो दलको तर्फबाट उम्मेदवार हुनेहरूको नामसमेत सार्वजनिक हुने अन्तिम तयारीमा रहेको जानकारी दिइन् । ‘पार्टी एकताका कुरा पनि छन् । उम्मेदवारीमा त्यसको पनि असर पर्छ त्यसकारण अन्तिम तयारीमा रहे पनि अझै एकदुई दिनमा मात्रै नाम सार्वजनिक हुन्छ,’ उनले भनिन् ।

मधेसवादी आपसी तालमेलको प्रयासमा
राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरू भने काठमाडौंमा आन्तरिक छलफलमै व्यस्त छन् । राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, महेन्द्रराय यादव, शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा काठमाडौंमै रहेको राजपाले जनाएको छ ।

स्थानीय तहका केन्द्रीय प्रतिनिधि खटाएर उम्मेदवार छनोट गरिरहेको राजपा नेपाललाई उम्मेदवार छनोट गर्नमा हम्मेहम्मे परेको छ । उम्मेदवार छनोटमा खटेका नेताका अनुसार उम्मेदवारको संख्या बढी भएकाले टुंगो लगाउन समय लागेको हो । जिल्ला स्तरमै उम्मेदवारको टुंगो लाग्न नसकेमा राजपा नेपालको केन्द्रीय अध्यक्ष मण्डलले अन्तिम टुंगो लगाउनेछ । त्यसका लागि अध्यक्ष मण्डलका नेता छलफलमा जुटेका छन् ।

राजपा नेपालले प्रदेश २ को स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी तह जितेर पहिलो बन्ने रणनीतिअनुसार अघि बढिरहेको छ । मधेसको सच्चा पार्टी राजपा नै रहेकाले राजपा पहिलो बन्ने पार्टीका महासचिव अजय गुप्ताले बताए ।
यता संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता उम्मेदवार छनोटमै व्यस्त छन् । केही ठाउँमा मात्रै उम्मेदवार छनोट गर्न बाँकी रहेकाले छिट्टै टुंगो लगाउने महासचिव रामसहाय यादवले बताए । फोरमले राजपा नेपालसँग चुनावी तालमेल गर्ने जनाएको छ । पहिलो प्राथमिकता राजपा नेपालसँग नै तालमेल गर्ने रहेको यादवले बताए । नेपाल लोकतान्त्रिक फोरम पनि उम्मेदवार छनोटमा व्यस्त छ । महासचिव भारतेन्दु मल्लिकका अनुसार फोरम राजपा नेपालसँग चुनावी तालमेल गरेर प्रतिस्पर्धामा जाँदै छ ।
महेश्वर गौतम, सुभाष साह / राजधानीबाट