७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालसँग भुटान ९ विकेटले पराजित

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७४, बुधबार ०६:५३

काठमाडौं । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा थाईल्याण्डलाई हराएको नेपालले आज(बुधबार) भएको दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको हो । मलेसियाको किन्रारा ओभल मैदानमा भुटानले दिएको ५१ रनको चुनौती नेपालले ८ ओभर ३ बलमा १ विकेटको नोक्सानीमा पार गर्‍यो ।
नेपालका लागि आशिफ शेखले अविजित २३ रन जोड्दा अर्का सुरुवाती ब्याट्सम्यान सन्दिप सुनार २१ रन जोड्दै पभेलियन फर्किए । यसअघि पहिले ब्याटिङ गरेको भुटानले २९ औं ओभरमा अलआउट हुनुपुर्व ५० रनको सामान्य योगफल खडा गरेको थियो । भुटानको लागि तासी फुन्सोले अविजित रहँदै १६ रन जोड्दा उगेन दोर्जीले १३ रनको योगदान दिए ।
भुटानलाई सस्तैमा समेट्न नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिँदा सन्दिप लामिछानेले ४ विकट झारे । बाँकी १ विकेट नन्दन यादवको नाममा रह्यो । नेपालले समूह ए को अन्तिम खेलमा भोलि सिंगापुरसँग खेल्नेछ ।
८ राष्ट्र सहभागि एसीसी युथ नाईन्टिन क्रिकेट पुर्वी क्षेत्रको छनोटको समुह ए मा नेपालसँगै थाईल्याण्ड, भुटान र सिंगापुर तथा समुह बी मा आयोजक मलेसियासँगै हङकङ, चिन र म्यानमार रहेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका युथ टोलीसँग खेल्ने मौका पाउनेछन् ।