१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘एनआरएनमा संस्थागत ज्ञानको अभाव’

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७४, शुक्रबार १५:३०


फडिन्द्र भट्टराई ।

गैर आवासिय नेपाली संघ बेलायतको सातौ अधिवेशन तथा नयाँ कार्यसमितीको निर्वाचन भर्खर सम्पन्न भएको छ । एउटा कार्यकारी पदमा उम्मेदवार बनेको हैसियतले मैले पनि जीवनमा पहिलो र रोचक निर्वाचनको सामना गर्ने अवसर पाएँ । यसै सन्दर्भमा सर्व प्रथम त यो अधिवेशन तथा निर्वाचन सम्पन्न गराउन प्रमुख भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, कार्यसमितीका साथीहरु, स्वयंसेवक तथा सहभागिता जनाउनु हुने सम्पूर्ण सदस्य हरुमा हार्दिक आभार प्रकट गरेर मात्रै मेरो यो सानो आलेखको शुरुवात गर्न चाहन्छु । साथै नव निर्वाचित कार्यसमितीलाई शुभकामना दिदै यो अभियानमा सदैव सकारात्मक सहयोग रहने प्रतिवद्दता समेत व्यक्त गर्दछु ।

मैले सबै भन्दा पहिला सदस्यताको प्रसंग बाटै भविष्यमा आउन सक्ने मेरा आलेखहरुको खाता खोल्ने अनुमती चाहन्छु ।
एनआरएनमा पहिलो पटक आईसीसी को पहलमा शुरु गरिएको अनलाईन सदस्यता प्रणालीको यो निर्वाचनमा केही हद सम्म प्रयोग हुनु अत्यन्तै सराहनीय र उपलब्धी मुलक कार्य हो । यसले केही बिकृती हरुलाई रोक्ने प्रयास गरेको छ तथापि विकृत मानसिकताहरु यसै भित्रका कमजोरीहरुको फाईदा उठाउनमा पछी नपरेको तथ्य भने हाम्रो सामु जग जाहेर नै छ ।

बेलायतमा बस्ने नेपालीहरुको ३ प्रतिशत भन्दा कम संख्याले मात्रै यो निर्वाचनमा सदस्यको रुपमा सहभागी भएर पनि यो चुनावले जनमानसमा निकै ठूलो उत्साह, चर्चा परिचर्चा र एक खालको उमंग ल्याएको कुरालाई नकार्न मिल्दैन । चिया चमेना चौतारी देखी भटमासे भट्टी सम्मको गफको टपिक बन्यो अहिलेको एनआरएन चुनाव । उम्मेदवारलाई भन्दा समर्थक लाई बढी चटारो, सामाजीक संजाल तिरको झटारो अनी सबैले हाकिमको भूमिका निर्वाह गर्न खोज्दाका संवादहरु पनि कम रोचक रहेनन ।

जे होस सदस्य देखी रिंग लिडर सम्म, भोट बैंक देखी समुदाय सम्म सबैले स्वाभाविक भाउ पाए र भूमिका निभाए पनि यो निर्वाचनमा सहभागिताको हिसावले संस्थाको महत्वलाई त बढाएको छ तर गलत संस्कारको विकास गर्दै । कुनै पनि संघ संस्थाको लागी उसको साधारण सदस्य भनेको उभिने धरातल र टेक्ने मेरुदण्ड दुवै हो । एनआरएन एउटा दुरगामी महत्व बोकेको संस्थाको धरातल र मेरुदण्ड जुन रुपमा खडा गरिदै छ त्यो स्वयंमा गलत छ ।

एनआरएन को हो , के हो र किन यसको सदस्य बन्न आवश्यक छ भन्ने कुराको मनन नगराई कन बनाईएका सदस्यहरुले अन्त्वतोगत्वा आफ्नो विवेकले नेतृत्व चुन्न सक्दैनन । संस्थाको मर्म र उद्देश्य बुझीसके पछी मात्र मान्छेले संस्थाको लागी सही मान्छे चुन्न सक्छ जसमा हामी यो निर्वाचनमा चुकेका छौं । विगतको केही अनुभवमा जस्तो सदस्यताको ठेली पल्टाउने कार्यको पुनराव्रित्ती नहुनुलाई भने सफलताको कसीमा राख्ने पर्ने हुन्छ । मैले यसो भनिरहँदा अहिले चुनिएका पदाधिकारी सबै गलत चुनिए भन्न खोजेको भने कदापी होईन । विगतको केही अनुभवमा जस्तो सदस्यताको ठेली पल्टाउने कार्यको पुनराव्रित्ती नहुनुलाई भने सफलताको कसीमा राख्ने पर्ने हुन्छ ।

सदस्यहरुले संस्था बुझे भनेदेखी मात्रै यो अभियानमा लागेका व्यक्तिहरु पनि बुझ्दै जाने छन । यसको लागी संस्था प्रतिको आकर्षण र चासो बढाउनु जरुरी छ तब मात्र स्वतस्फुर्त रुपमा उनीहरु एन आर एन तर्फको सदस्य बन्न तम्सिने छन् । यो काम त्यति सजिलो छैन तर असम्भव पनि छैन । कुरा जरै बाट बुझाउन सक्नु पर्छ अझै पहिला काम गरेर देखाउनु सक्नु पर्छ ।

अर्कैले फारम भरिदियो, यसदिन भोट हाल्न जानु पर्छ भनेर उर्दी जारी गर्यो अनी यसलाई यसलाई भोट हाल्नु भनेर लिस्ट थमाएर पठायो, यो संस्कार प्रजातान्त्रिक हुन सक्दैन । मतदाताले आफ्नो स्वविवेक प्रयोग गर्न सक्ने दिनको आगमन नहुन्ज्याल सम्म चुनाव एउटा कर्मकाण्डको रुपमा मात्रै रहने मेरो बुझाई छ ।

यो भनिरहदा के पनि बिर्सिनु हुदैन भने कुनै उम्मेदवारको आफ्नो परिवार नाता गोता , ईस्ट मित्रहरु सम्बन्धित व्यक्तिलाई जिताउन लागी पर्नु स्वाभाविक नै हो । यो कुरा समुदायमा पनि लागु भएको देखिन्छ त्यसलाई पनि अन्यथा लिईनु हुदैन तर विविधतामा एकता बोकेको हाम्रो समाजमा सामाजिक सद्भाव सर्वोपरी बन्नु पर्दछ ।

प्यानल र गुटको निर्माण गरेर समग्र अभियान, उम्मेदवार र ब्यतिविशेष बारे अनबिज्ञ रहेका सदस्यहरुको भोट खन्याएर चुनाव जित्ने परिपाटी अन्त्य हुने गरी कामको थालनी गर्नु पर्दछ ।
मान्छेका जुँगाको लडाईमा सिंगो एनआरएनलाई धराप बनाउदै यसमा योगदान गर्न सक्ने र संस्थाको लागी आवश्यक ब्यतिहरु किनारा लगाउने उद्देश्यले एनआरएनका अधिवेशनहरु संचालन हुने हो भने संस्थाको भविष्य संकटमा पर्ने निश्चित छ ।

तसर्थ डायस्पोराका नेपालीहरुको सर्वोपरी हितलाई ध्यानमा राखेर स्वच्छ र प्रजान्त्रिक हिसाबले नेतृत्व चयन हुन सकोस भन्ने हेतुले नयाँ कार्यसमितीले वर्तमान अनलाई प्रणाली लाई विकास गर्दै सम्पूर्ण बेलायत वासी नेपाली हरुको पहुच सम्म एनआरएन लाई पुर्याउने अभियानमा लागी परोस यसमा हाम्रो सदैव साथ् र सहयोग रहने छ । सदस्यता अभिव्रिद्दी कार्यक्रम चलाउन चुनाव कुरी राख्नु पर्दैन यो आजै बाट शुरु गर्न सकिने कुरा हो । यसरी बनेका सदस्य मात्र एनआरएन प्रति अपन्वत्व र स्वामित्व महसुस गर्न सक्ने योग्य र योगदान गर्न सक्ने सदस्य बन्न सक्छन । यसमा बिलम्ब गर्नु हुदैन ।

विगतको केही अनुभवमा जस्तो सदस्यताको ठेली पल्टाउने कार्यको पुनराव्रित्ती नहुनुलाई भने सफलताको कसीमा राख्ने पर्ने हुन्छ । एनआरएन सबैको बन्न सकोस झगडा र विवादको घेरा बाट यसलाई मुक्त गर्न सकियोस यो नै तपाई हाम्रो सबैको चाहना हो र यसको खातिर हामी सबै सकारात्मक रुपमा एकवद्द भएर लाग्नु आजको आवस्यकता हो । समग्र एनआरएन अभियानको हामी र हाम्रा सन्ततीको लागी अत्यन्तै ठुलो महत्व छ । यो कुरा हामीले पनि आत्मसात गरौँ र अरुलाई पनि गराऊँ ।

प्रतिष्पर्धामा अस्वस्थता
निर्वाचनको दौरान सामाजिक संजाल र मेडियामा देखिएका अभिव्यक्तिहरु त्यती स्वच्छ रहेनन । व्यक्ति बिशेषको छवीमा आंच आउने गरेर अनर्गल प्रचार गर्नु , बिभिन्न गुट उपगुट संग जोडेर भ्रम फैलाउने जस्ता कार्यहरु पनि यो दौरानमा देखिए । मतदाताको व्यक्तिगत विवरण सार्वजनिक हुने देखी निर्वाचन आचार संहिता उलंघनका गम्भीर घटनाहरुको सुनुवाई हुन नसक्नु अत्यन्तै दुखद पक्ष हो । साम दाम दण्ड भेद जसरी पनि चुनाव जित्नु पर्छ भन्ने मानसिकता आफैमा गलत छ । सके भोटले नभए मुढे बल समेत प्रयोग गरेर चुनाव लड्ने रणनितीका उम्मेदवारहरु मैदानमा देखिनुलाई एक्काईशौं शताब्दीको बेलायतमा बस्ने हामी नेपालीलाई कति शुभनिय रहन्छ प्रश्न गहन छ

अन्त्यमा आफ्नै बारेमा,

एनआरएन यूकेको कार्यसमितीमा दुई कार्यकाल क्रमश सदस्य र सचिवको रुपमा काम गरेको मेरो अनुभवले र साथीहरुको आग्रह र आफ्नै ईछ्याशक्तिले मलाई यसपाली महासचिवको उम्मेदवारको रुपमा उभ्याएको थियो । मेम्बरसिप बन्द भईसके पछी चुनावी मैदानमा उत्रिएको मैले आफुले न त चुनावी प्रयोजनको लागी भनेर सदस्यता बनाएँ न त कुनै गुट र प्यानल संग गठवन्धन गरेर भोट कुम्ल्याउने रणनिती नै अपनाएँ ।
यो सबैको बावजुत स्वतन्त्र रुपमा आएका ८२७ जना सदस्यको सम्मानजनक मतलाई मैले मेरो जीवनको कमाईको रुपमा लिएको छु र उहाँहरु प्रति हार्दिक नमन गर्दछु । कतिपयले म प्रति सद्भाव राख्दा राख्दै पनि परिस्थिती वस मलाई मतदान गर्न सक्नु भएन उहाहरु प्रति पनि मेरो हृदयमा उत्तिकै ठुलो स्थान छ । निर्वाचनमा विभक्त बनेको समाजलाई एकवद्द पार्नु पर्ने जिम्मेवारी झनै ठुलो छ । यो दौरानमा यती धेरै साथी शुभेच्छुक र अभियान्ताहरु लाई भेट्ने भलाकुसारी गर्ने र संगै दौडिने अवसर मिल्यो जसको खुशी म शब्दमा व्यक्त गर्न सक्दिन ।

यो अनुभवले मलाई झनै तिखारेको छ, यहाँहरुको अपेक्षालाई निरुत्साह नहुने गरी यो अभियानमै रहेर काम गर्नेछु । यसका अलावा सामाजिक रुपान्तरणको लागी पत्रकारिता , लेखन, साहित्य र अन्य विधाहरु मार्फत पनि हजुरहरु माझ आई नै रहने छु । एन आए एन सम्बन्धी आउने लेखहरुलाई कृपा गरेर निर्वाचनको रोईलोको रुपमा नबुझिदिनु होला । सशक्त तर सकारात्मक प्रतिपक्ष बनेर एनआरएन लाई सही ट्रयाकमा ल्याउन आफुले भ्याए सम्मको भूमिका खेल्ने नै छु ।

ईमान, जमान. नैतिकता र मर्यादाको धरातल बाट नचिप्लीए सम्म निर्वाचन, पद र हार जित सबै गौण कुरा हुन् भन्ने कुरामा म दरिलो गरी विश्वस्त छु । यहाँहरु मायाँ सधै पाई राखौ । जय एनआरएन !