१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पार्टीले नै सहमतिमा नेविसंघको नेतृत्व दिने

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७३, आईतवार १४:३०

काठमाडौं । नौ वर्षसम्म हुन नसकेको नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनको आइतबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । आफू पार्टी सभापतिमा निर्वाचित भएलगत्तै देउवाले ६ महिनाभित्र भ्रातृसंस्थाहरूको महाधिवेशन गराउने उद्घोष गर्नुभएको थियो । नेविसंघको यो महाधिवेशन साउन २५ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ ।
महाधिवेशनमा मुलुकभरका करिब तीन हजार चार सय प्रतिनिधि सहभागी भएका छन् । उद्घाट्न समारोहमा नेता रामचन्द्र पौडेल, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पार्टी केन्द्रीय समितिका सदस्य, अन्य नेता तथा संघका पूर्वअध्यक्षहरू, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले महाधिवेशन सफलताको शुभकामना दिएका थिए । प्रतिनिधि विवादित ११ जिल्लामध्ये सुर्खेत, रौतहट र भक्तपुरको विवाद मिलिसकेको छ । सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीको महाधिवेशन प्रतिनिधिको विवाद आज सोमबार मिल्ने भएको छ ।
हिजै सभापति देउवाले अस्पतालमा उपचार गराइरहेका आमरण अनसन बसेका गणेश सापकोटा र रत्नहरि ढुंगेललाई भेटेर जायज माग पूरा हुने आश्वासन दिनुभएको थियो ।

उमेरहद ३२ वर्ष
सामान्यतः ४० वर्ष उमेर पार गरेकालाई प्रौढ भन्ने गरिन्छ । नेविसंघ हो या प्रौढ संगठन हो भन्ने कुरा छुट्याउन गाह्रो हुन थालेपछि आगामी १२ औं महाधिवेशनबाट लागू हुनेगरी ३२ वर्षको उमेर हद तोकिएको छ । यसपटक भने ४० नाघेकाहरूको नै केन्द्रीय समितिमा बाहुल्यता हुने देखिएको छ । यद्यपि तनहुँका ताराबहादुर थापालगायतका केही युवा नेताहरूले ‘अन्डर २५’ को अभियान चलाएका छन् । पाएसम्म २५ वर्ष ननाघेका उम्मेदवारलाई मत दिने अभियान आफूहरूको रहेको उनीहरूको भनाइ छ । तर कुल महाधिवेशन प्रतिनिधिमध्ये २५ वर्षमुनिको संख्या ५ प्रतिशतभन्दा कम रहेका कारण र २५ वर्ष उमेर ननाघेका उम्मेदवारहरूको संख्या पनि ५ प्रतिशतभन्दा कम रहेका कारण आफ्नो अभियान सफल हुने कुरामा भने उनी त्यति आशावादी छैनन् ।

पार्टीले सर्वसम्मत नेतृत्व दिन सक्ने
सकेसम्म निर्वाचन प्रक्रियाअनुसार नै नेतृत्व चयन गर्ने निर्देशन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले दिइसक्नुभएको छ । साथै, उहाँले नेता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति गठन गर्नुभएको छ । निर्वाचनको जिम्मेवारी डेमोक्रेटिक लयर्स एसोसिएसनलाई दिइएको छ । निर्वाचन हुन सम्भव नभएको अवस्थामा विगतको परम्परा जस्तै पार्टीले हस्तक्षेप गरी नेतृत्व चयन गर्ने सम्भावना पनि त्यत्तिकै छ । अहिलेसम्म सम्पन्न १० वटा महाधिवेशनमध्ये केहीलाई छाडेर अधिकांश महाधिवेशनमा पार्टीले हस्तक्षेप गरेको छ ।

१७ मध्ये ८ निर्वाचित अध्यक्ष
पहिलो महाधिवेशनमा विपीन कोइराला र मार्शलजुलुम शाक्यबीच निर्वाचन नै भएको थियो । दोस्रो महाधिवेशनमा देउवाबाहेक कसैले दाबी नगरेपछि उहाँ सर्वसंममत हुनुभएको थियो । तेस्रो महाधिवेशनमा असहज स्थिति उत्पन्न भएपछि तत्कालीन पार्टी सभापति बीपी कोइरालाले विमलेन्द्र निधिलाई अध्यक्षको जिम्मेवारी तोक्नुभएको हो । दुई वर्षपछि निधिले राजीनामा दिएका कारण ज्ञानेन्द्रबहादुर कार्कीलाई पार्टीले नै अध्यक्ष तोकिदिएको हो । चौथो महाधिवेशन प्रहरी हस्तक्षेपका कारण बिथोलिएको ६ महिनापछि बलबहादुर केसीलाई पार्टीले नै अध्यक्षको जिम्मेवारी दिएको हो । पाँचौं महाधिवेशनमा पनि निर्वाचन भएको होइन । बालकृष्ण खाँणलाई पार्टीले नै अध्यक्षको जिम्मेवारी दिएको हो । छैटौं महाधिवेशनमा एनपी साउद र नवीन्द्रराज जोशीबीच प्रतिस्पर्धा भएको थियो । यसैगरी, धनराज गुरुङ, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, रञ्जित कर्ण पनि निर्वाचनमार्फत नेविसंघको अध्यक्ष बनेका होइनन् । भ्रातृसंगठन भएका कारण विशेष परिस्थितिमा पार्टीले नै नेतृत्व चयन तथा विघटन गर्नसक्ने परम्परा तथा प्रावधान छ ।