७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा नेपाल आइडलको शो

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७४, मंगलवार १९:३३

रियालिटी शो नेपाल आइडल ०१७ का विजेताहरु सांगीतिक कार्यक्रमका लागि अक्टोबर ३० मा बेलायत आउने भएका छन् । बेलायतका विभिन्न ५ सहरमा लाइभ कन्सर्ट गर्न नेपाल आइडल बुद्ध लामासहित निसान भट्टराई, प्रताप दास र प्रमिला राई बेलायत आउन लागेको आयोजकले जानकारी दिएको छ । सोमबारमात्र उनीहरुले भिसा लिएका छन् ।

लन्डनमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार, पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने आयोजकमध्ये एक मनकामना रेमिटका प्रबन्ध निर्देशक राजाराम गिरीले जनाए । मनकामना रेमिट, पोखरा ट्राभल र मुनटाज इन्टरनेशनले बेलायतमा नेपाल आइडल ल्याउन लागेका हुन् ।

देश विदेशका लाखौं दर्शकले टेलिभिजनबाट हेरे पनि बेलायतस्थित नेपालीलाई विजेताहरुसँग प्रत्यक्ष साक्षात्कार गराउने आफूहरुको उद्देश्य रहेको आयोजकले बताएका छन् ।