१२ बैशाख २०८१, बुधबार
Follow Us

‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियर शो आगामी १२ नोभेम्बरमा

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७४, शनिबार २०:४८

२०७४-बेलायतका नेपाली व्यवसायीले निर्माण गरेको चलचित्र ‘हयाप्पी डेज’ को लागत करिब २ करोड ५० लाख रुपैयाँ पुगेको फिल्म युनिटले दावी गरेको छ । उक्त लगानी आम नेपाली चलचित्रको तुलनामा उच्च हो ।

नेपालबाट आएका कलाकार र प्राविधिकहरु ४६ दिनसम्म बेलायतमै बसेर छायांकन गरिएकाले यसको लगानी उच्च करिब अढाइ करोड रुपैयां पुगेको फिल्म प्रस्तोता वी पी खनालले जनाए ।

‘फिल्म निर्माण आफैंमा चुनौतिपूर्ण छ,’ खनालले भने, ‘तर हामीले फिल्मबाट व्यापारिक लाभ मात्र उद्देश्य नराखी नेपाली चलचित्रको प्रवर्धन र यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुरयाउन ठूलो जोखिम लिएका छौं ।’फिल्म निर्माताहरुमा वीपी खनाल, हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स र डा. अशोक बन्साल छन् ।

शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा खनालले हयाप्पी डेजको ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो आगामी १२ नोभेम्बरमा बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा हुने जानकारी दिए । नेपालमा भने माघ १२ देखि प्रदर्शन हुने बताइएको छ ।

मिलन चाम्सले निर्देशन गरेको उक्त चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, दिया पुन, विक्की जोशी, मोनिका गुरुङ, रुपा पुन, रितेश चाम्स लगायत कलाकारको मुख्य अभिनय छ । फिल्मको करिब ९५ प्रतिशत छायांकन बेलायतमै भएको छ । स्कटल्याण्ड, वेल्स् र इंग्ल्याण्डका रमणीय दृश्यहरु फिल्ममा समेटिएको निर्माण पक्षले जनाएको छ ।