७ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वले चिनेकी कान्छी गौरिका

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७३, मंगलवार १०:५८

काठमाडौं- आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह । त्यसरी नाम लिनाको कारण उहाँले स्वर्ण पदक जितेकाले पक्कै होइन । सय मि ब्याकस्ट्रोकको उक्त स्पर्धामा नेपालकी गौरिकासँगै अन्य ३४ देशका खेलाडीले भाग लिएका थिए, तर त्यहाँ उहाँ ३१औँ स्थानमा रहन पुग्नुभयो । पहिलो चरणबाटै बाहिरिनुभएकी उहाँभन्दा तल सामाओ, कोसोभो र केन्याका खेलाडी मात्र रहेका थिए ।
वास्तवमा त्यहाँ गौरिकाको नाम बारम्बार आउनाको कारण यस्तो थियो, उहाँ प्रतियोगिताकै सबभन्दा कान्छी खेलाडी हुनुहुन्थ्यो । दुई सय छ देशका ११ हजारभन्दा बढी खेलाडी सम्मिलित ‘रियो ओलम्पिक’मा सबभन्दा कम उमेरकी खेलाडी भएपछि उहाँको चर्चा चुलिएको छ । अहिले उहाँ विश्व चर्चित सञ्चारमाध्यमको खोजीको विषय हुन पुग्नुभएको छ ।
भर्खर १३ वर्षीया गौरिकालाई गत बिहीबार फ्रान्सेली समाचार संस्था एएफपीले लामो कुराकानी गरेको थियो । सो क्रममा उनले भने – ‘मैले कुनै दिन ओलम्पिक खेल्दैछु भनेर सोचेकी भने थिइन । मैले धेरै सानो उमेरदेखि पौडी खेल्न सुरु गरेकी थिएँ तर यसले मलाई यहाँसम्म पु¥याउनेछ भनेर विश्वास भने थिएन ।’ कान्छी खेलाडी हुनाको राजबारे उनको तर्क यस्तो छ – ‘मैले यसबारे खासै सोचेकी भने छैन । अरु सबै खेलाडी जस्तै म यहाँ खेल्न आएकी हुँ । त्यसैले अरुभन्दा म धेरै फरक छैन ।’ यीबाहेक ‘द गार्डियन’, ‘एपी’, ‘रोयटर्स’लगायत प्रमुख सञ्चारमाध्यमले समेत उहाँलाई प्राथमिकतामा राखेर समाचार बनाएका छन् ।
आइतबार प्रतिस्पर्धाकै क्रममा गौरिकाले आफ्नो ‘स्विमसुट’ च्यातिएका कारण पौडन अप्ठ्यारो परेको बताएको थियो । यस कुरालाई ब्राजिलसँगै विश्वभरका सञ्चारमाध्यमले प्राथमिकताका साथ ‘हाइलाइट्स’ गरे ।
गौरिका दुई वर्षको हुँदादेखि नै आफ्ना बुबासँगै बेलायतको लन्डन बस्न थालेकी हुन् । त्यहाँको बर्नेट कप्टहल क्लबबाट खेल्दै आएकी उनी आफ्नो उमेर समूहमा बेलायतका २० पौडीबाजमा पर्छिन् । गौरिका चार वर्षदेखि लन्डनमै रहेर ओलम्पिकको तयारीमा व्यस्त थिइन् ।
करिब छ महिनाअघि भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (सागमा एक रजत र तीन कास्य पदक जितेकी उनले नेपाली पौडीमा तीन पल्ट राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
जारी ओलम्पिकबाट बाहिरिए पनि उनले ‘हिट वान’ चरणमा पहिलो स्थान हासिल गरेकी थिइन् । उक्त एक मि ब्याकस्ट्रोक उनले १ मिनेट ८ दशमलव ४५ सेकेन्डमा पूरा गरेकी थिइन् । उनले आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले चुकेकी थिइन् । यो अपेक्षा विपरीत भए पनि नेपाली ओलम्पिकका लागि भने कीर्तिमान नै हो । हालसम्म नेपाली पुरुष पौडीबाजले समेत यो स्पर्धा १ मिनेट १२ सेकेन्डमा मात्र पूरा गर्न सकेका छन् ।
यता घरेलु देश नेपालमा झन् गौरिकाको चर्चा चुलिएको छ । नेता, अभिनेता, खेलाडी, व्यवसायीलगायत सबै क्षेत्रका मानिसले उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । उनीहरुको सार यस्तो छ – ‘गौरिकाले हारेर पनि जितेकी छिन् ।’
– दीपेन्द्र सापकोटा