४ बैशाख २०८१, मंगलवार
Follow Us

विराज भट्टको मौनता केका लागि ?

sarusaru
२० कार्तिक २०७४, सोमबार ०४:४६
किन मौन छन् एक्सन स्टार विराज भट्ट ? किन छैन मिडियाको उनको चर्चा ? आखिर के गर्दैछन् उनी ? अहिले उनका प्रशंसकको मनमा यीनै कुराहरु खुब दौडिरहेका छन् ।
झण्डै ५ वर्षपछि गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘जय परशुराम’मार्फत उनले नेपाली फिल्ममा कमब्याक गरेका थिए । अब नेपाली फिल्मलाई पनि निरन्तरता दिने उद्घोष गरेका विराज ‘जय परशुराम’पछि पर्दामा देखिएका छैनन् ।
केही महिना अगाडि खबर बाहिरिएको थियो कि विराज ‘हर्के राजा’बाट फेरि पर्दामा आउँदैछन् तर अझैपनि यो फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छैन । फिल्ममा विराजबाहेक अन्य कलाकार फाइनल भएका छैनन् भने निर्देशकको पनि खोजी भैरहेको छ । स्रोतका अनुसार, फिल्मको नाम ‘हर्के राजा’ राख्ने वा नराख्ने भन्ने विषयमा पनि विराज अहिले छलफल गरिरहेका छन् ।
कमब्याक फिल्म ‘जय परशुराम’ बक्स अफिसमा असफल भएपछि विराज फेरि भोजपुरी फिल्ममै फर्किने धेरैको अनुमान थियो तर हाल उनी काठमाडौंमा नै छन् । संभवतः मंसिर अन्तिम साताबाट उनी फिल्म लिएर फ्लोरमा जानेछन् । तर, कमब्याक फिल्म रिलिज भएको एक वर्ष नाघिसक्दा पनि उनको नयाँ फिल्म पर्दामा नआउनुले विराजको मौनताको रहस्य दर्शक बुझ्न चाहिरहेका छन् ।
एकसमय नेपाली फिल्ममा एकछत्र राज गरेका विराजले सयभन्दा बढि नेपाली फिल्ममा अभिनय गरेका छन् । भोजपुरी फिल्म पनि उनका उतिक्कै छन् । ‘जय परशुराम’को असफलतापछि विराजको स्टारडम ओरालो लागेको बहस पनि खुब चलेको थियो अब यो दागलाई मेट्न उनलाई एक हिट फिल्मको आवश्यक छ । यसैले पनि हुन सक्छ उनी नयाँ फिल्मको तयारीमा झण्डै डेढ वर्षदेखि गुपचुप छन् ।
 – फिल्मी खबरबाट ।