७ बैशाख २०८१, शुक्रबार
Follow Us

उत्तम लिम्बुले पाए विश्वव्यापी कविता प्रतियोगिताको प्रथम पुरस्कार

sarusaru
२१ कार्तिक २०७४, मंगलवार ०६:२३

कवि उत्तम लिम्बुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरियाद्वारा आयोजित विश्वव्यापी नेपाली कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । सहभागी १८६ जना कविलाई पछि पार्दै उनको ‘युगका स्वरहरु’ शिर्षकको कविता प्रथम भएको हो । उक्त प्रतियोगितामा कवि निरज दाहालले दोस्रो स्थान र कवि ज्ञानेन्द्र बहादुर सिंहले तेस्रो स्थान हासिल गरेका छन् । प्रथम स्थान हासिल गर्ने कवि उत्तम यसअघि नै धनकुटेली काव्यताराका रुपमा पुरस्कृत एवम् सम्मानित भइसकेका छन् भने हालसम्म उनी ३७ वटा कविता प्रतियोगितामा प्रथम भै उनको जादुगरी वाचन शिल्प वापत ‘वाचन शिरोमणि’का रुपमा पनि सम्मानित छन् ।

 

युगका स्वरहरु (कविता)

चुल्ठोमा सिउरेर चमेली
गुराँस आफ्नै मात्र नभन्नु
छातीमा राखेर पहाड
हिमाल आफ्नै मात्र नभन्नु
हत्केलामा बोकेर माटो
देश आफ्नै मात्र नभन्नु ।

देश नभएर पनि
खुशी छन् बादलका लस्करहरु
देश नभएर पनि
स्वतन्त्र छन् चराका हुलहरु
देश नभएर पनि
हाँसेका छन् फुल नभनिएका फुलहरु ।

एउटै रुखले सत्य थाम्ने भए
किन उम्रनु हजार वृक्षहरु ?
एउटै साँझले जुनी बित्ने भए
किन उदाउनु लाख दिनहरु ?

साथी
सुकेको हाँगा टेकेर
कसरी माथि चढ्नु ?
जमिनमा टाउको जोतेर
कसरी आकाश हेर्नु ?

सम्झिनुहोस्
अन्त्य हुँदैछ छेपाराको शताब्दी
जो अँध्यारोमा
घर बनाउने सपना देख्छ
र उज्यालोमा बिर्सन्छ ।

रात ओभाएपछि
तारा थन्काइराख्नु पर्दैन
जस्तै कि
झरिरहेछ हाँगाबाट
डेटएक्स्पायर पतिंगर
रुखलाइ यो थाहा छ
शीतल बाँड्न
नयाँ पातहरु चाहिन्छ ।

मनमा घाम राख्नुपर्छ
संसार उज्यालो देखिन्छ
जब भुँइको धुलो माटो हुनेछ
जब पुतली फुल हुनेछ
शायद साबित हुनेछ
ढुङ्गा सिर्फ ढुङ्गा मात्र होइन
ईश्वर पनि हो।

चाल्नुहोस् केही कदमहरु
सिक्नुहोस् केही आयामहरु
जस्तै कि हेर्नुहोस्
कमिलाको एकता
कसरी उचाल्दैछ झुसिल्किरा ?
हेर्नुहोस् गौँथलीको मेहनत
कसरी बनाउँदैछ घर ?
हेर्नुहोस् चराको निरन्तरता
कसरी सिन्का-सिन्का जोडेर
मजबुत पार्दैछ गुँड ?

साथी
आफ्नै नङ्ग्रा जोतेर
आफ्नै घरबारीको बाँझो फोर्नु
फुटाएर आफ्नै पसिनाले
अहमका डल्लाहरु
अलिकति उमार्नु
आफ्नै करेसामा रायोको साग
बश देश बनाउनु पर्दैन
देश आफैँ बन्नेछ ।