१२ बैशाख २०८१, बुधबार
Follow Us

भलिबल ट्रेनिङ सेन्टरको सुरुवात

sarusaru
२२ कार्तिक २०७४, बुधबार ०४:३२

काठमाडौं / रास– खेलकुदलाई व्यापकता प्रदान गर्न तथा यथासक्य छिटो खेलकुद गतिविधिको सूचना जनसमक्ष पु¥याउने उद्देश्यले पोखरा रंगशालामा एक मेडिया सेन्टरको स्थापना भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले भलिबल टे«निङ सेन्टर भवन र सोही भवनमा रहेको सूचना केन्द्रको एक समारोहबीच उद्घाटन गरे । सदस्य सचिव विष्टले सूचना केन्द्रको साँचो नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रञ्जन अधिकारीलाई हस्तान्तरण गरे । त्यस्तै, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भलिबल ट्रेनिङ सेन्टर भवनको साँचो पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङलाई हस्तान्तरण गरे ।

१३ रोपनी जग्गामा ५९ लाख ९९ हजार ६ सय २३ रुपैयाँ २८ पैसामा पोखरा रंगशालामा निर्माण भएको भलिबल प्रशिक्षण केन्द्रमा दर्शक बस्ने प्याराफिट, टे«निङ सेन्टर भवनलगायत चार भलिबल मैदान निर्माण गरिएको छ ।

कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले खेलकुद पूर्वाधार विकासका लागि खेल प्रशिक्षण स्थलको निकै नै आवश्यक हुने भन्दै नेपालमा आयोजना हुने १३औं सागको तयारीका क्रममा विभिन्न पूर्वाधारहरूको निर्माण गर्नुपर्ने तथा पोखरमा समेत केही खेल आयोजना हुने भएकोले यस पूर्वाधारले खेलाडी उत्पादन तथा प्रतियोगिता सम्पन्न गर्न सहज हुने बताए । यस्तै उनले सूचना केन्द्रको स्थापनको सम्बन्धमा बोल्दै आगामी दिनमा खेल मैदानमा नै बसेर सूचना प्रवाह गर्न यस सेन्टरले सहज बनाउने बताए । उनले पत्रकारप्रति कटाक्ष गर्दै खेलकुदको विकास गर्ने हो भने यथार्थ स्थिति नबुझी नकारात्मक सूचना प्रवाह गर्नु भन्दा सदा सकारात्मक सूचना प्रवाह गर्न आग्रह गरे । उनले १३औं साग नेपालमा गर्ने पहलस्वरूप केही खेल पोखरामा आयोजना हुने र त्यसको तयारी स्वरूप पूर्वाधार निर्माणलाई अग्र गति दिइरहेको भन्दै यो भवन तथा सूचना केन्द्र पनि त्यसैको पहल भएको बताए ।

पत्रकार महासंघका अध्यक्ष श्रेष्ठले केन्द्रको स्थापनाले खेल मैदानमा नै बसेर छिटो र छरितो रूपमा सूचना प्रवाह गर्न सहज हुने बताए । १८ लाख ९० हजार १ सयको लागतमा स्थापना गरिएको मेडिया सेन्टरमा इन्टरनेटसहितको १२ कम्प्युटर, एक प्रोजेक्टर, एक टिभीलगायत कुर्सी टेबलको व्यवस्था गरिएको छ । जसमा सिटिजन फर्निचर सेन्टरले ४ लाख १९ हजार २ सय, हिमालयन ट्रेनिङ हाउसले ४ लाख ९८ हजार ५ सय, हिमालयन अफिस अटोमेसनले ४ लाख ८७ हजार ४ सय, शुभकामना इलेक्ट्रिकल्सले ३ लाख ४८ हजार ५ सय र दी शुभकामना इनर्जीले १ लाख ३६ हजार ५ सयको सहयोग रहेको छ ।

–   राजधानी दैनिकबाट ।