११ बैशाख २०८१, मंगलवार
Follow Us

बन्द सत्र १२ बजे सुरु हुने, भोलि मनोनयन र पर्सी निर्वाचन

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७३, बुधबार ०५:४९

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा देखिएको प्रतिनिधि छनोटको विवाद सुल्झिएको छ। पार्टीले गठन गरेको निर्देशक समितिले गएराति अबेरमात्रै विवाद सुल्झाएको हो। विवाद समाधान भएपछि स्थगित भएको बन्द सत्र बुधवार १२ बजेबाट सुरु हुने भएको छ।

निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतका अनुसार मागकर्ताको माग सम्बोधन गरिएको र महाधिवेशनमा ११ जिल्ला तथा केही क्याम्पसका गरी तीन सय प्रतिनिधि थप गरिएको छ। विधिवत अधिवेशनको माग राख्दै अनसनमा बस्दै आएको पूर्वकोषाध्यक्ष कुन्दनराज काफ्ले नेतृत्वको समूह र अनशनमै बसेको अर्को समूहलाई २ः१ को अनुपातमा प्रतिनिधि दिइएको निर्देशक समितिका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य महतले जानकारी दिए।
प्रतिनिधि विवादकै कारण आइतबार ११ औं महाधिवेशनको उद्घाटन भए पनि दुई दिन लगातार बन्द सत्र स्थगित हुँदै आएको थियो। विवाद नरहेका भनिएका ६४ जिल्लामा पनि केही प्रतिनिधिको हेरफेर गरिएको छ। प्रतिनिधि विवाद समाधान भइसकेकाले बुधवार १२ बजेदेखि बन्द सत्र सुरु हुने नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए।

महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन भने बुधवारै गरिने उनले बताए। लामिछानेका अनुसार बिहीबार उम्मेदवारी दर्ताका लागि मनोनयन दर्ताका लागि समय तोकिएको छ भने शुक्रवार निर्वाचन हुने छ।महाधिवेशनमा अब झन्डै ३७ सय प्रतिनिधिले सहभागीता जनाउने भएका छन्। विवादित ११ जिल्ला तथा उपत्यकाका केही क्याम्पसमा रहेको प्रतिनिधि छनोटको विवाद समाधान भएपछि करिब ३ सय प्रतिनिधि थपिएका हुन्।

९ वर्षपछि महाधिवेशन भएकाले नेतृत्वमा पुग्ने आकांक्षीहरुको संख्या धेरै देखिएको छ। अर्को महाधिवेशनदेखि ३२ वर्ष उमेर पुगेका विद्यार्थीले नेतृत्वको अवसर नपाउने गरी विधान संशोधन हुन लागेका कारण पनि नेतृत्वका आकांक्षीहरुको संख्या धेरै भएको हो।

अध्यक्षका सभापति शेरबहादुर देउवा पक्षबाट पूर्वमहामन्त्री जितजंग बस्नेत र पूर्वउपाध्यक्ष नैनसिंह महर तथा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य, लक्ष्मण आचार्य, निलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, दिपक भट्टराई लगायतले उम्मेदवारी घोषणा गरेका छन् भने कृष्ण सिटौला पक्षबाट कुन्दनराज काफ्लेले उम्मेदवारी घोषणा गरेका छन्।

महाधिवेशनले एक अध्यक्ष, ११ जना उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्षसहित १ सय २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। त्यसवाहेक विभिन्न पद्मा २२ जना मनोनित गरिने छन्।