७ बैशाख २०८१, शुक्रबार
Follow Us

१ सय २९ पदका लागि हजार उम्मेदवार

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७३, बुधबार ०७:१४

काठमाडौं । गत आइतबारदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेपछि सुरु भएको नेविसंघको ११औं महाधिवेशनमा केन्द्रीय समितिको १ सय २९ पदका लागि करिब एक हजार उम्मेदवार बन्ने संकेत देखिएको छ । कुल तीन हजार चार सय महाधिवेशन प्रतिनिधिमध्ये एक तिहाइभन्दा बढीले केन्द्रीय समितिमा पुग्ने आकांक्षा राखेपछि अन्योलता बढेको छ । उद्घाटन भएको दुई दिनपछि प्रतिनिधि विवाद मिलेको छ । अब बुधबार अपरान्हदेखि बन्दसत्र सुरु भएको छ । बन्दसत्रले केही संशोधित विधान पारित गर्नेछ । नयाँ नेतृत्वका लागि विहीबार मनोनय दर्ता र शुक्रबार निर्वाचन हुने बताइएको छ ।
उम्मेदवार नै धेरै हुने भएकाले मतपत्र कसरी निर्माण गर्ने भन्ने धौ धौ निर्वाचन समितिलार्ई परेको छ । यस महाधिवेशनले एक अध्यक्ष, १३ उपाध्यक्ष, चार महामन्त्री, १७ सहमहामन्त्री र एक कोषाध्यक्षसहित एक सय ५१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । प्रत्येक प्रदेशबाट एक÷एक जना, काठमाडौं उपत्यकाबाट एकजना तथा महिला, आदिवासी, दलित र जनजाति कोटाबाट एक÷एकजना गरी १३ जना उपाध्यक्ष निर्वाचित हुनेछन् । ती उपाध्यक्ष आ–आफ्नो प्रदेश तथा क्षेत्रको संयोजकसमेत हुने व्यवस्था विधानमा गरिएको छ । महामन्त्री तीन निर्वाचित र एक मनोनीत हुनेछन् । एक सय २९ निर्वाचित हुनेछन् भने २२ सदस्य अध्यक्षले मनोनीत गर्न पाउने व्यवस्था विधानमा छ ।

को को उम्मेदवार ?
११औं महाधिवेशनमा अध्यक्ष पदका लागि संस्थापन पक्षका जितजंग बस्नेत, नैनसिंह महर, रत्न कार्की, सरोज थापालगायतले उम्मेदवारी दिने तयारी गरेका छन् । चुनाव नै हुने अवस्था आयो भने यी चारमध्ये एकजनालाई संस्थापन पक्षले अघि सार्ने सम्भावना छ । अन्य तीनजनाले नेविसंघको उपाध्यक्ष, महामन्त्रीमा अवसर पाउनेछन् भने एकजनालाई पार्टीको केन्द्रीय समितिमा ठाउँ दिन सकिने विश्वस्त स्रोतले बताएको छ । रामचन्द्र पौडल पक्षबाट मनोजमणि आचार्य, निलकण्ठ रिजाल, दीपक भट्टराई, क्षितिज भण्डारी, आनन्दराज त्रिपाठीलगायतले उम्मेदवारी दिने तयारी गरेका छन् । यीमध्ये मनोजमणिलाई नै आधिकारिक उम्मेदवार बनाउने टुंगो पौडेल पक्षले गरिसकेको बुझिएको छ । कृष्णप्रसाद सिटौला पक्षबाट कुन्दन काफ्लेलाई अघि सारिएको छ । तर मुख्य प्रतिस्पर्धा भने भने संस्थापन पक्ष र पौडेल पक्षबीच नै हुने सम्भावना छ । संस्थापन पक्षका बस्नेत र पौडेल पक्षका आचार्य पूर्वमहामन्त्रीसमेत हुन् । सिटौला पक्षधरबाट अघि सारिएका काफ्ले पूर्वकोषाध्यक्ष हुन् । उनको र बस्नेतको संयुक्त टिम बन्न सक्ने सम्भावना पनि बलियो छ ।
उपाध्यक्ष पदमा प्रदेश नम्बर १ बाट संस्थापन पक्षले विकास केसी र सुवास भण्डारीमध्ये एकजनालाई अघि सार्ने तयारी गरेको छ भने पौडेल पक्षबाट गोपाल सेढाइँको निश्चित भइसकेको छ । प्रदेश नम्बर २ बाट संस्थापन पक्षले बैकुण्ठ श्रीवास्तवलाई अघि सारेको छ । प्रदेश नम्बर ६ बाट संस्थापन पक्षले कृष्ण जैसी र केशर शाहीमध्ये एकजनालाई अघि सार्ने भएको छ । जैसीले त्यस क्षेत्रबाट चुनाव जित्ने लगभग निश्चित जस्तै छ । पौडेल पक्षबाट सल्यानका खडग डाँगी अगाडि देखिएका छन् ।
यसैगरी, उपाध्यक्ष पदमा ओजी अर्सद, भरत खड्का, राजीव केसी, निमा गिरी, चन्दा अधिकारी, रमेश पाण्डे, दिपक भण्डारी, निमा गिरी, हरिश भण्डारी, खड्क डाँगी, बखतबहादुर शाही, विश्वामित्र रिजाललगायतले आ–आफ्नो दाबीका साथ उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्षमै विष्णु कार्की, कृष्ण कार्की, नवीन राई, सागर परियार, कृष्णकुमारी बस्नेतलगायतले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
महामन्त्रीमा उर्मिला थपलिया, पुष्पराज शाही, युवराज पाण्डे, डिल्लीराम सुवेदीलगायतले दाबी गरेका छन् । महामन्त्रीमा खुला पदमा उम्मेदवारी घोषणा गर्ने थपलिया एक मात्र महिला उम्मेदवार हुन् भने डिल्लीराम सुवेदी प्रचारमा अगाडि छन् । यस्तै, सह–महामन्त्रीका लागि साधना घिमिरे, दिनेशचन्द्र थपलिया, महेन्द्र राउत, रघुवीर कार्की, सागर भट्टराई, रञ्जिता कार्कीलगायतले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
कोषाध्यक्षमा हालसम्म संस्थापन पक्षबाट अञ्जना अर्यालको उम्मेदवारी तय भएको छ भने पौडेल पक्षबाट साधना घिमिरे र शिव रिमालमध्ये एकजनालाई अघि सारिने सम्भावना रहेको छ ।
केन्द्रीय सदस्यमा गोकुल खत्री, गोपाल चौलागाईँ, राजेश केसी, प्रेम जोशी, जयराम दाहाल, दिनेश भुर्तेल, डम्बर कार्की, लिला भट्टराई, दिपेन्द्र खड्का, उपेन्द्र मिश्र, शिव पौडेल, लक्ष्मी पौडेल, तेजबहादुर बानियाँ, कल्पना खड्का, कल्पना पौडेल, सदिक्षा चित्रकार, दिलीप दाहाल, विष्णुबहादुर थापालगायतले उम्मेदवारी घोषणा गरेका छन् ।
महाधिवेशन सम्पन्न गर्न कुल खर्च करिब एक करोड ७८ लाख ८० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सबै खर्चको जिम्मेवारी पार्टी आफैंले लिएको हुनाले कहीँकतैबाट पनि आर्थिक सहयोग नलिने नेविसंघको भनाइ छ । यसअघि स्थगित हुँदै आएका पाँचवटा अधिवेशनका लागि नेविसंघले पटक–पटक चन्दा असुल्दै आएको छ ।
मुलुकको सबैभन्दा ठूलो पार्टी भएको कारण मात्रै होइन, स्वर्णिम इतिहास भएका कारण पनि नेविसंघको नेतृत्वमा पुग्न यति ठूलो आकर्षण देखिएको हो ।
२०२७ वैशाख ६ गते स्थापना भएको नेविसंघ नेपाली कांग्रेसको सबैभन्दा शक्तिशाली भ्रातृसंगठन हो । पहिलो अध्यक्ष विपीन कोइराला पञ्चायत प्रवेश गरेर बिग्रेको अवस्थाबाहेक यतिबेला नेविसंघको पुस्ताले नै नेपाली कांग्रेस हाँकिरहेको छ । सभापति शेरबहादुर देउवा नेविसंघको दोस्रो अध्यक्ष, उपप्रधानमन्त्री विमलेन्द्र निधि तेस्रो अध्यक्ष र पार्टी महामन्त्रीका लागि यतिबेला चर्चामा आउनुभएका नेता ज्ञानेन्द्रबहादुर कार्की चौथो अध्यक्ष हुनुहुन्छ । त्यसैगरी, बलबहादुर केसी पाँचौं र बालकृष्ण खाँण छैटौं अध्यक्ष हुनुहुन्छ ।