१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत, सेमिफाइल प्रवेशको सम्भावना बलियो

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७४, आईतवार ०९:३५

काठमाडौं । मलेसियामा सञ्चालन भइरहेको एसीसी यु–१९ कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । खेल सकिन १ ओभर ५ बल बाँकी हुँदा भारतले सबै विकेट गुमाउँदा १ सय ६६ रन मात्र जोड्न सक्यो ।
भारतलाई पराजित गर्न कप्तान दिपेन्द्रसिंह ऐर नायक बने । उनले नेपालका लागि १ सय १ बलको सामना गर्दै ८८ रन जोडे भने बलिङतर्फ १० ओभरको स्पेलमा २ मिडिन छोड्दै ३९ रन खर्चेर भारतको ४ विकेट लिए ।
भारतविरुद्धको खेलमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको थियो । नेपालले भारतसामु १ सय ८६ रनको चुनौती पेश गरेको थियो ।
नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ८५ रन जोडेको हो । अन्य ब्याट्सम्यान जितेन्द्र सिंह ठकुरीले ३६ रन जोडे । निकै संयमित भएर ब्याटिङ गरेका ऐरीले १ सय १ बल सामना गरी ६ चौका र दुई छक्का प्रहार गरे ।
भारतको तर्फबाट कप्तान हिमांशु रानाले ३८ रनको योगदान दिए । त्यस्तै मनोज कालराले ३६ तथा अविशेक शर्माले २७ रनको योगदान दिएका थिए ।
नेपालका तर्फबाट पवन सर्राफ र सहाब अलामले २–२ विकेट लिएका थिए ।
पाँच टेष्ट खेल्ने राष्ट्रका साथै नेपाल, युएई र आयोजक मलेसियाले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताअन्तर्गत नेपालको समूहमा बंगलादेशसँगै साविक बिजेता भारत र आयोजक मलेसिया छन् ।
नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियाको सामना गर्नेछ । प्रतियोगिताको अर्को समुहमा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र युएई रहेका छन् । समुह चरणको खेलपछि शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलका लागि छानिने छन् ।