१५ चैत्र २०८०, बिहीबार
Follow Us

चुनावमा खेलकुद क्षेत्रका को–को उठे

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७४, बिहीबार ०९:३२

काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धाका लागि खेलकुद पदाधिकारी, ओलम्पियन र खेलाडीसम्मका व्यक्तित्वले उम्मेदवारी दिनुभएको छ ।

खेलकुद क्षेत्रबाट प्रतिनिधिसभाको चुनावमा उठ्ने मध्येका एक हुनुहुन्छ, युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसी । उहाँ काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ ।

विसं २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराउनुभएको सन्दर्भले निकै चर्चा बटुलेको थियो । अहिले केसीको प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादी केन्द्रका हितमान शाक्य हुनुहुन्छ ।

“राष्ट्र निर्माण र खेलकुद क्षेत्रको विकासका लागि सदैव समर्पित भएर लाग्छु,” उहाँले भन्नुभयो ।

त्यस्तै, नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । विद्यार्थीकालदेखि नै राजनीतिमा लाग्नुभएका श्रेष्ठले पार्टीभित्र वडा, नगर, इलाका, जिल्ला र उपत्यका कमिटीको नेतृत्व सम्हाल्नुका साथै विसं २०५३ र २०६३ गरी दुईपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवमा नियुक्त हुनुभएको थियो ।

उक्त क्षेत्रमा उहाँको मुख्य प्रतिस्पर्धि काँग्रेस नेता नवीन्द्रराज जोशी हुनुहुन्छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कोषाध्यक्ष सुरेन्द्र हमाल काँग्रेसको तर्फबाट बाँके क्षेत्र नं २ को प्रदेशसभा (ख) बाट उम्मेदवार बन्नुभएको छ । विसं २०३५ देखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएको हमाल विसं २०४९ को स्थानीय निर्वाचनमा नेपालगन्ज नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित हुनुभएको थियो । सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा सम्पन्न ओलम्पिकको २३औँ संस्करणमा हमालले नेपालका तर्फबाट सहभागिता जनाउनुभएको थियो ।

त्यसैगरी, सन् १९८३ मा सिरियामा भएको एशियन भारोत्तोलन च्याम्पियनसिपमा उहाँले नेपाललाई काँस्य पदक दिलाउनुभयो । हमालले दक्षिण एशियाली खेलकुद (साग)को पहिलो र दोस्रो संस्करणमा रजतपदकसमेत हात पार्नुभएको थियो ।

“खेल क्षेत्र बुझेको व्यक्तिले नै खेल र खेलाडीका लागि केही गर्न सक्छ भन्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ,” उहाँले भन्नुभयो ।

हमालले मुलुकलाई चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकुद भएकाले पनि यसको स्तरोन्नतिमा आफू सदैव लागिरहने प्रतिबद्वता व्यक्त गर्नुभयो । हमालको चुनावी प्रतिस्पर्धी एमालेका विजयकुमार गुप्ता, संघीय फोरमका दुर्गेसकुमार वैश्य र राष्ट्रिय जनता पार्टीका कैलाशकुमार मिश्र हुनुहुन्छ ।

काँग्रेसले काठमाडौँ क्षेत्र नं ९ प्रदेशसभा (क) बाट अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरलाई उम्मेदवार बनाएको छ । तुलाधर सबैभन्दा पुरानो क्लब ‘ए’ डिभिजनमा रहेको संकटा क्लबको अध्यक्षका साथै तेक्वान्दो खेलको प्रशिक्षकसमेत हुनुहुन्छ । तुलाधरले खेलकुदको विकासमा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो ।

उहाँले खेलकै कारणले आफू राजनीतिमा लागेको भन्दै भौतिक पूर्वधारको कमी रहेकाले यसको निर्माणतर्फ विशेष ध्यान दिने बताउनुभयो । तुलाधरको मुख्य प्रतिस्पर्धा वाम गठबन्धनका उम्मेदवार अजयक्रान्ति शाक्यसँग हुने अनुमान गरिएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का पूर्वसदस्यसचिव केशव स्थापित वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ६ प्रदेशसभा (क) को उम्मेदवार हुनुहुन्छ । स्थापित विसं २०५१ मा राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवसमेत रहिसक्नुभएको छ । उहाँ काठमाडौँ महानगरपालिकाको पूर्वप्रमुख पनि हुनुहुन्छ ।

“राष्ट्र निर्माणका साथै खेल क्षेत्रको विकास गर्ने ठूलो सपना छ,” उहाँले भन्नुभयो ।

नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष टंक आङबुहाङ ताप्लेजुङ प्रदेशसभा ‘ख’बाट वाम गठबन्धनको उम्मेदवार बन्नुभएको छ । उहाँ यसअघि सम्पन्न दुवै संविधानसभा चुनावमा ताप्लेजुङबाट पराजित हुनुभएको थियो ।

त्यसैगरी, एन्फाका पूर्वमहासचिव कुमारजंग थापा काँग्रेसबाट सुनसरी क्षेत्र नं ३ को प्रदेशसभा (क) बाट उम्मेदवार हुनुहुन्छ भने एन्फाकै केन्द्रीय सदस्य महमद समिउल्लाह बारा क्षेत्र नं ३ प्रदेशसभा (ख) मा एमालेको उम्मेदवार हुनुहुन्छ ।

यस्तै, एन्फा उपाध्यक्ष किशोर राई सुनसरी क्षेत्र नं १ प्रदेशसभा (क) बाट काँग्रेसका तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ ।

यसैगरी, काँग्रेसले ललितपुर क्षेत्र नं १ प्रदेशसभा (ख)बाट कराँतेका मीनकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ भने नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह काँग्रेसको तर्फबाट जाजरकोटमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी बन्नुभएको छ । उहाँको प्रतिस्पर्धी माओवादी केन्द्रका नेता शक्ति बस्नेत हुनुहुन्छ ।

यस्तै, नेपाल भलिबल संघका पूर्वकोषाध्यक्ष बुद्धि कटुवाल सुनसरी क्षेत्र नं १ प्रदेशसभा (ख)बाट काँग्रेसको उम्मेदवार हुनुहुन्छ । नेपाल क्रिकेट संघ (क्यान)का पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला वाम गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं १ मा प्रदेशसभा (क) मा उम्मेदवार हुनुहुन्छ ।
– मुना कार्की