८ बैशाख २०८१, शनिबार
Follow Us

नेविसंघको अधिवेशन बिथोलिन सक्ने, बन्दसत्रका लागि हल भेटिएन

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७३, बिहीबार ०६:४४

काठमाडौं । नेपाल विद्यार्थी संघको आज पनि बन्दसत्र अनिश्चित बनेको छ । हिजो पत्रकार सम्मेलन गरेर पार्टी निर्देशन समितिले विवाद मिलेको र विहीबार बन्दसत्र सञ्चालन हुने बताइएको थियो । तर आज फेरि एउटा पक्षले हिजोको सहमति मान्न तयार नभएपछि अधिवेशन बिथोलिन सक्ने बताइएको छ । ११ जिल्ला बाहेक २४ सय प्रतिनिधिमा कुनै विवाद रहेन । ११ जिल्लाका हजार प्रतिनिधिको विवाद हिजो मिलाइएको थियो । विवाद मिलाउँदा देउवा र पौडेल पक्षले चार चार सय र सिटौला पक्षलाई दुई सय प्रतिनिधि दिने सहमति बनेको थियो । सिटौला पक्षका भनेर चिनिएका अध्यक्षका उम्मेदार कुन्दन काफ्लेलाई दुई सय प्रतिनिधि दिएको भन्दै अन्य अध्यक्षका उम्मेदवारले पनि आफ्नो भाग खोज्न थालेपछि नयाँ विवाद सिर्जना भएको निकालिएको छ ।

प्रतिनिधि नामावली प्रकाशित नभएसम्म बन्दसत्र सुरु नहुने बताइएको छ । तर निर्वाचत समितिले भने साउन २९ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । सङ्घको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि यही साउन २९ गते निर्वाचन हुने भएको छ ।

नेवि सङ्घले आज सबै महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरी कार्ड, झोला र अन्य सामग्री वितरण गर्ने जनाएको छ । त्यस्तै, सङ्घको निर्वाचन गर्न पार्टीले गठन गरेको निर्वाचन समितिले आज दिनभरिमा मतदाता नामावली सूचि तयार गरी प्रकाशन गर्ने भएको छ ।

समितिले भोलि शुक्रबार उम्मेदवारी मनोनयन दर्ता, उम्मेदवारी मनोनयनउपर दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने समिति संयोजक भरतप्रसाद खरेलले जानकारी दिनुभयो ।

निर्वाचनका उक्त सबै कार्यक्रम पार्टी कार्यालय सानेपामा हुनेछन् । निर्वाचन भने यही साउन २९ गते बिहान ७ बजे राष्ट्रिय सभागृहमा गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

महाधिवेशन प्रतिनिधि विवाद मिलाउन ढिलाइ हुँदा यही साउन २३ गते नेवि सङ्घ महाधिवेशनको उद्घाटन भए पनि बन्दसत्र अझै हुन सकेको छैन । नेवि सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले विवादित ११ जिल्लाको प्रतिनिधिको मङ्गलबार राति टुङ्गो लगाएको हो ।

प्रतिनिधिको विवाद मिलेपनि महाधिवेशनस्थल भृकुटीमण्डपको सभाहल बुकिङ सकिएकाले बन्दसत्र कहाँ गर्ने भन्ने बारेमा अन्योलता उत्पन्न भएको छ । सङ्घले महाधिवेशन अवधिभर साउन २३ देखि २५ गतेसम्म उक्त सभाहल बुकिङ गरेको थियो ।

बन्दसत्र अन्योलताका बारेमा अध्यक्ष रञ्जीत कर्णले भोलि शुक्रबार बन्दसत्र र उम्मेदवारी मनोनयन दर्ता पार्टी कार्यालय सानेपामा एकैसाथ गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । यद्यपि नेवि सङ्घका कतिपय नेताले भने अब बन्दसत्रको अध्याय समाप्त भएको जनाएका छन् ।

प्रतिनिधिको विवाद मिलाई निर्वाचन समितिलाई सबै नामावली प्रदान गरिसकेकाले अब बन्दसत्र भई निर्वाचन प्रक्रिया अघि बढ्ने निर्देशन समितिका संयोजक डा प्रकाशशरण महतले बताउनुभयो ।