७ बैशाख २०८१, शुक्रबार
Follow Us

धान काट्दा काट्दै चितुवाको आक्रमणबाट चार जना घाइते

sarusaru
७ मंसिर २०७४, बिहीबार ०३:५३

दमक : चितुवाको आक्रमणमा परि झापामा चारजना घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाको आक्रमणमा परी बुधबार साँझ प्रहरी हवल्दार युवराज थापा सहित चारजना घाइते भएका हुन्।
घाइते हुनेमा शिबगञ्जमा कार्यरत सुनसरी इनरुवा-२ का प्रहरी हवल्दार थापा, शिवसताक्षी-५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४५ वर्षीय बुद्धसिंह ताजपुरिया र वाड नम्बर ६ का ४० वर्षीय देवलाल राजवंशी रहेका छन् ।
शिवाकोटीलाई धान काट्ने क्रममा बुधबार साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्ने क्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो । चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेको प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । चितुवा लखेट्ने क्रममा चितुवा धानबारीमा लुकेको र चितुवा नभेटेपछि फर्कदै गरेको अवस्थामा उनलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
चितुवाको आक्रमणमा परी घाइते भएकामध्ये प्रहरी हवल्दार थापा र बुद्धसिंह ताजपुरियाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ताजपुरियाको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ । उनको टाउको र घाँटीमा चोट लागेको छ । खरेलको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार भइरहेको छ भने देबलाल राजबंशीको सामान्य उपचार पछि घर फर्किएका छन् ।
चितुवाको खोजीका लागि स्थानीयबासीसँगै प्रहरी बिहीबार बिहानै देखी लागिपरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक कैलाश राईले जानकारी दिए ।
अहिले सो क्षेत्रमा चितुवाको खोजीका लागि ठूलो जमात भेला भएको छ । स्थानीयबासीका अनुसार यसअघि कहिले पनि चितुवा यस क्षेत्रमा नदेखिएको बताएका छन् । आक्रमण गर्ने चितुवा घुमुवा चितुवा रहेको उनीहरुको भनाई छ ।

– अन्नपूर्ण पोष्टबाट ।