६ बैशाख २०८१, बिहीबार
Follow Us

एमाले अध्यक्ष ओलीको घरमा राखिएको बम निष्क्रिय

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७४, शनिबार ०७:१७

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा राखिएको बम नेपाली सेनाको २१ नम्बर बाहिनीबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीको घरको मूलगेटमा राखिएको बम आज बिहान निष्क्रिय पारिएको हो ।

यसअघि ओलीको घरमा बिहान ४ बजे अज्ञात समूहले बम विस्फोट गराएको थियो । बम विष्फोट हुँदा भौतिक तथा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

ओलीको झापास्थित घरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बस्दै आउनुभएको छ । ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

यसैगरी नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विस्फोट भएको छ । विस्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा ७ च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

झापाका दुई स्थानमा बम विष्फोट भएपछि झापाको सुरक्षा व्यवस्थालाई थप मजबुद पारिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । उहाँले बम विष्फोट गराउने समूहको खोजीकार्य तीव्र पारिएको बताउनुभयो ।