७ बैशाख २०८१, शुक्रबार
Follow Us

सफलतापूर्वक निर्वाचन सम्पन्न भएको प्रारम्भिक निष्कर्ष

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७४, आईतवार १३:२९

काठमाडौं । पहिलो चरणअन्तर्गत आज ३२ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केही अपवादलाई छोडेर शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । मानवअधिकार तथा शान्ति समाजले गरेको निर्वाचन पर्यवेक्षणमा यस्तो देखिएको महासचिव उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

समाजले ओखलढुंगा, खोटाङ, कालीकोट, दैलेखलगायत २२ जिल्लामा पर्यवेक्षण गरेका थिए । प्रारम्भिक सूचनाअनुसार निर्वाचन बिथोल्न केही कोणबाट हिंसात्मक प्रयास भए पनि मतदान प्रक्रियामा मतदाता उत्साहप्रद तवरले सहभागी भएको जनाएको छ ।

हिमाली क्षेत्रमा बढ्दो चिसोका कारण मतदानमा केही असर परेको र निर्वाचनका लागि उपयुक्त नभएको हुँदा त्यसतर्फ आगामी दिनमा ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो ।

आचारसंहिताको पालनाका सन्दर्भमा उम्मेदवारले नै सीमा नाघेर धन खर्च गरेको र प्रमुख राजनीतिक दलले नै आचारसंहिताको उल्लंघन गरेको पर्यवेक्षणका क्रममा देखिएको समाजले जनाएको छ ।

निर्वाचन पूर्व सिलसिलेबार रुपमा भएका विष्फोटनका घटना, उम्मेदवार केन्द्रित आक्रमण, मतदाता तर्साउने नियतले गरिएका ध्वंसात्मक गतिविधिका बाबजुत समग्रमा सफलतापूर्वक पहिलो चरणको निर्वाचन सम्पन्न भएको समाजको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । समाजले २२ जिल्लाका ५७ मतदानस्थलमा पर्यवेक्षण गरेका थिए ।