८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री देउवाको सभास्थल नजिकै विस्फोट, प्रहरीसहित ८ घाइते

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७४, मंगलवार १३:३५

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला बम विष्फोट भएको छ । सभास्थल भन्दा २०० मिटर टाढा तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजार तुलसी बोर्डिङ स्कूल नजिकै बम विष्फोट भएको थियो । उक्त विष्फोटमा परी एक म्यादी प्रहरी सहित ८ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनसागरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोह-याई रहनु अत्यन्त दुःखद भएको नेपाली कांग्रेस पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुने छैनन् ।’
यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहो-याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।