८ बैशाख २०८१, शनिबार
Follow Us

यसरी भाँडिदैछ नेविसंघ अधिवेशन

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७३, बिहीबार १७:३३

काठमाडौं– नेपाली कांगे्रसका पार्टी सभापति शेरबहादुर देउवाले प्रतिष्ठाको विषय बनाएको नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन जसरी पनि भाँडिने भएको छ । सभापति देउवाले अध्यक्षमा जोसुकै आए पनि आफूलाई मतलब नभएको सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई असफल बनाउन नेविसंघको अधिवेशन भाँड्ने सम्भावना बढेको हो । देउवा पक्षीय एक उपाध्यक्षका उम्मेदवारले भने, ‘यो अधिवेशन भाँड्न एकसूत्रीय अभियानमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह एकसूत्रीय अभियानमा लागेका छन् ।
देउवा पक्षका एक केन्द्रीय सदस्यका उम्मेदवार गोकूल खत्रीका अनुसार प्रतिनिधि विवादमा अल्मलाएर अधिवेशन भाँड्ने तयारी भएको छ । निर्देशन समितिले बुधबार विवाद लगभग मिलाइसकेको थियो । तर देउवा पक्षले अध्यक्षमा एकजना मात्र उम्मेदवार तोकेपछि अधिवेशन भाँड्ने अभियान सुरु भएको हो । सबैको चाहना निर्वाचनबाट नेविसंघको नेतृत्व छनोट होस् भन्ने छ, तर निर्वाचन हुन नदिने षड्यन्त्र भएको आभाष अधिकांश प्रतिनिधिले पाइसकेका छन्, खत्रीले भने ।

विहीबार के भयो ?
बुधबार साँझ निर्देशन समितिले प्रतिनिधि विवाद मिलेको र बिहीबार बन्दसत्र हुने, शुक्रबार मनोनय र शनिबार नेतृत्व छनोटका लागि निर्वाचन हुने पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका थिए । तर उनीहरुले जे भनेका थिए, ठीक त्यसको विपरित विहीबार भयो । विवाद मिलाउन निर्देशन समिति केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीको निवासमा गोप्य छलफलमा व्यस्त थिए भने विद्यार्थी नेताहरु निर्वाचनको माग गर्दै भृकुटीमण्डपको प्रदर्शनीमार्गमा नारा जुलुस र गाना बजानासहित ओहोरदोहोर गरिरहे । उम्मेदवारहरु भने भिजिटिङ कार्ड बाड्दै भोट माग्न व्यस्त देखिन्थे । बिहीबारको नेविसंघ गतिविधि अधिकांश सञ्चारमाध्यमले कभर गरेनन् ।

विवादको चुरो
उपत्यकालगायत ११ जिल्लाको प्रतिनिधि विवादको चुरो हो । सुरुका दिनमा यी जिल्लामा पनि अधिवेशन भइसकेको थियो । तर देउवा पक्षले तत्कालीन संस्थापन पक्षले एकलौटी गरेको भनेर विरोध जनाएको थियो । यी क्षेत्रमा १ हजार प्रतिनिधि छन् । यसलाई अधिवेशन ताका टुंग्याउने सहमति भएको थियो । हिजो बुधबार भएको सहमतिअनुसार १ हजार प्रतिनिधिमध्ये देउवा पक्ष र पौडेल पक्षले चार–चार सय र अनसन बस्ने सिटौला पक्षधर भनिएको कुन्दन काफ्ले पक्षलाई दुई सय प्रतिनिधि दिने सहमति भएको थियो । यो सहमति भएलगत्तै देउवा पक्षले नैनसिंह महरलाई अध्यक्ष र सिटौला पक्षधर कुन्दन काफ्लेलाई महामन्त्रीको उम्मेदवार घोषणा ग¥यो । सुरुमा कुन्दनले आफूलाई अध्यक्षको उम्मेदवार घोषणा गरेका थिए । यो सहमतिको खुलासा भएलगत्तै पौडेल पक्षधर हचकियो । आज बिहान अर्थात् विहीबार अध्यक्षका प्रत्येक प्रत्यासीले आफ्नो पक्षमा पनि भाग खोज्न थालेपछि नयाँ विवाद सुरु भएको हो । पौडेल पक्षबाट आधा दर्जन अध्यक्षका प्रत्यासी उम्मेदवार थिए, उनीहरुले पनि आफ्नो पक्षमा दुई सय प्रतिनिधि हुनुपर्छ भन्ने माग गर्न थालेपछि विहीबार दिनभरि ज्ञानेन्द्र कार्कीको निवासमा बैठक र भृकुटीमण्डपमा नाराजुलुसभन्दा अरु केही हुन सकेन ।

शुक्रबार के हुन्छ ?
नेविसंघको प्रतिनिधि छनोटका लागि डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) लाई निर्वाचन गराउन ३ सदस्यीय समिति नेपाली कांगे्रसले तोकेको छ । तीन सदस्यमध्ये एक महासचिव अरुण पञ्जियारका अनुसार निर्वाचन कार्यक्रम तय भए पनि प्रतिनिधि नामावली आइनसकेकाले निर्वाचन प्रक्रिया अघि बढ्न सक्दैन । अर्थात् निर्वाचन समितिलाई प्रतिनिधिको नामावली नआएपछि निर्वाचिन गतिविधि अघि बढ्न सक्दैन ।

अब के हुन्छ ?
नेपाली कांगे्रसले अधिवेशन गराउन डा. प्रकाशशरण महतको नेतृत्वमा नेविसंघको अधिवेशन गराउन निर्देशन समिति गठन गरेको थियो । यो निर्देशन समितिसँग अहिलेको अवस्थामा दुईवटा विकल्प छ । पहिलो विकल्प बुधबार सहमति भएका प्रतिनिधिको नामावली टाँस गरेर निर्वाचन गराउन निर्वाचन समितिलाई निर्देशन दिनेछ भने दोश्रो विकल्प विवाद नमिलेकाले साझा व्यक्तिलाई अध्यक्ष तोकेर निश्चित समयमा अधिवेशन गराउने व्यक्तिको नामसँगै अन्य पदाधिकारीको नामावली सभापति देउवा समक्ष पु¥याउने ।

कुन विकल्प उपयुक्त ?
प्रतिष्ठाको विषय बनाएका सभापति देउवाले पहिलो विकल्प रोज्ने सम्भावना धेरै छ । निर्देशन समितिले सिफारिस गरेको नामावलीमा विवाद गरेर हुलदुंगा गरे प्रहरी लगाएर थुनाउने र निर्वाचनको माध्यमबाटै नेविसंघको नेतृत्व छनोट गर्नेछ । संघमा उत्छृङ्खल देखिएको सिटौला समूह देउवा पक्षसँग मिलिसकेपछि पेलेरै जान सकिन्छ भन्ने देउवा पक्षको विश्लेषण छ । त्यसैले शुक्रबार प्रतिनिधिको नामावली टाँस गरेर निर्वाचन प्रकृया अघि बढ्न सक्ने सम्भावना धेरै छ ।

प्रतिनिधि थकित र निरास
प्रतिनिधि विवाद टुँगो लाग्न नसकेर महाधिवेशन लम्बिदा आयोजकलाई दैनिक ५० लाख रुपैयाँ नोक्सान मात्र भएको छैन, महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरु दुषित खाना र अव्यवस्थित बासस्थानले विरामीसमेत पर्न थालेका छन् । उनीहरु पक्ष र विपक्ष भन्दा पनि जसरी भए पनि महाधिवेशन सम्पन्न भएर घर फर्किन चाहन्छन् ।
नेपाल ब्रिटेन डट कमका लागि सुनयना राउत