१२ बैशाख २०८१, बुधबार
Follow Us

मधेश आन्दोलनको भिडियो देखाउन खोज्दा रौतहटमा झडप,२० राउन्ड हवाई फायर

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७४, शुक्रबार ०३:२७

गौर । रौतहटको महमदपुरमा स्थानीय र प्रहरी बीच झडप हुँदा चार जना घाइते भएका छन् । संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा ३ (ख) का उम्मेदवार बृजकिशोर यादवका समर्थकहरुले चुनावी प्रचार–प्रसारको क्रममा मधेश आन्दोलन सम्बन्धी डकुमेन्ट्रीको भिडियो प्रोजेक्टरमा देखाउन खोज्दा प्रहरीले अवरोध गरेपछि भएको झडपमा चार जना घाइते भएका हुन् ।
घटना भएको रौतहटको क्षेत्र ३ मा पर्ने गरुडा नगरपालिका –५ उम्मेदवार यादवको पकड क्षेत्र हो । यो क्षेत्रमा मधेस आन्दोलनमा प्रहरीले ज्यादति गरेको, गोली चलाएको, आन्दोलनका क्रममा मारिएका व्यक्तिको परिवार रोएको आदि दृश्य रहेको डकुमेन्ट्री देखाउने तयारी गरिरहेको थाहा पाएपछि रौतहट प्रहरी त्यसलाई रोक्न गाउँ पुगेको थियो।
उम्मेदवार यादवको पकड क्षेत्र भएकोले स्थानीय र प्रहरीबीच झडप हुन पुगेको थियो । झडपका क्रममा महमदपुरका प्रमोद दास, सुखल राय यादव, रामविनोद यादव, लक्ष्मी साह घाइते छन् । उनीहरु प्रहरीले लाठीचार्ज गर्दा टाउकोमा चोट लागेको छ । चार जना मध्ये प्रमोद र सुखलको अवस्था गम्भीर छ । दुबैको उपचार गरुडा अस्पतालमा भइरहेको छ भन्ने बाँकी दुई जनाको उपचार चन्द्रनिगाहपुरमा भइरहेको छ ।
झडप बढ्न थालेपछि प्रहरीले ५० राउन्ड अश्रुग्यास तथा २० राउन्ड हवाई फायरसमेत गरेको स्थानीयले बताएका छन् । तर, इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्दा थापाले भने हवाई फायर नगरिएको बताउनु भएको छ ।