७ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेश रहेका नेपालीको मताधिकार हुनुपर्छ : कावा अध्यक्ष वस्ती

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७४, आईतवार ०५:०५

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले विदेशमा बसेका नेपाली नागरिकले पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघले यहाँ आयोजना गरेको ‘निर्वाचन आचारसंहिता, सञ्चार र मानव अधिकार’ विषयक छलफल कार्यक्रममा वस्तीले प्रत्यक्ष निर्वाचनमा सम्भव नभए पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्न उपयुक्त हुने जनाउनुभएको हो ।
उहाँले सोबारेमा आयोगले निर्वाचन आयोगलाई सुझाव दिइसकेकाले आवश्यक कानून बनाई आगामी निर्वाचनमा त्यस्तो व्यवस्था हुने अपेक्षा व्यक्त गर्नुभयो । सर्वोच्च अदातलका पूर्वन्यायाधीशसमेत रहनुभएका वस्तीले निर्वाचनमा विद्युतीय मतदान यन्त्रको व्यवस्था हुन पनि उत्तिकै सामयिक भएको बताउनुभयो ।
महासंघका सचिव रेम विश्वकर्माले निर्वाचन आचारसंहिताको पालनाका लागि सञ्चार क्षेत्र जिम्मेवार हुनुपर्ने तर आचारसंहिताका नाममा प्रेस स्वतन्त्रतामा असर पारिन नहुने बताउनुभयो ।
छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर दवाडी र प्रेस चौतारी नेपालका सचिव सुरोजंगा पाण्डेले दलको विज्ञापन छापेका कारण पत्रपत्रिकालाई स्पष्टीकरण सोधिनु गलत भएको बताउनुभयो । क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले आस्था र समर्थन व्यक्त गरेका आधारमा पत्रकारलाई गिरफ्तारी भएकामा विरोध गर्नुभयो ।