१५ चैत्र २०८०, बिहीबार
Follow Us

अब छाती खोलेर संसदमा आउँछु : रेश्म चौधरी, नवनिर्वाचित सांसद (राजपा)

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७४, मंगलवार ०५:०५

टीकापुर घटनामा नाम मुछिएका नवनिर्वाचत सांसद रेश्म चौधरीले राज्य र प्रहरी प्रशासन आफ्नो पक्षमा भएकाले नै वारिसनामामार्फत प्रतिनिधिसभाको उम्मेदवार बन्न सम्भव भएको बताए । बिसौं वर्षदेखि थारुको नाममा राजनीति गर्नेहरुलाई जनताले यसपटक पराजित गरिदिएको उनको भनाइ छ । परिवर्तनको पक्षमा जनताले मत हालेकाले सबैले सबैका संस्कृतिलाई सम्मान गर्न सिकियौं भने मात्र देश समृद्धितिर जाने उनको तर्क छ । चौधरीसँग सञ्जीव अधिकारीले गरेको कुराकानी–

० जीतको अपेक्षा गर्नुभएको थियो ?
– विरुवा रोपेपछि फल लाग्छ, फल पाकेपछि खान पाइन्छ भन्ने अपेक्षा किसानले गर्छन्, मेरो पनि त्यही हो ।

० के रोप्नुभएको थियो ?
– जनताले आफ्ना अधिकार राज्यसँग जुन चाहन्थे, त्यो अधिकारका निम्ति जनता कुण्ठित थिए । जनता विगत ४–५ वर्षदेखि आन्दोलनमा थिए । यी कुरा शासकहरुले सोच्नुपथ्र्यो । पटक पटक थरुहट आन्दोलन भइरहँदा, भौगोलिक सांस्कृतिक पहिचानसहितको आन्दोलन भइरहँदा राज्यले एक पटक पनि वार्ताको आह्वान गरेन । यसरी पटक पटक वेवास्ता गरेपछि आफ्नो अधिकार सडकबाट स्थापित गर्न जनता लागे । त्यो पनि सम्भव नभएपछि जनताले नयाँ नेतृत्वको विकास गर्ने परिकल्पना गरे । जबवापत मलाई नेतृत्वका लागि पठाए । म एउटा चौकीदार हुँ, मलाई अध्याधिक बहुमतले जिताएर पठाउनुभयो । यतिधेरै जनमत जनताले केका लागि बोलेका हुन्, यो जनमतको परिभाषा के हो ? तपाईंहरु आफै गर्नुस् ।

० तपाईंलाई प्रहरी खोजिको सूचिमा राखेको छ, संसद प्रवेश कसरी सुनिश्चित कसरी गर्नुहुन्छ ?
– हाम्रो कानुन संसदबाटै लेखाउन मलाई प्रतिनिधि बनाएर जनताले पठाएका हुन् । टीकापुर घटनामा संलग्न नभएको व्यक्ति होइन, घटनाबाट धेरै टाढा रहेको थिएँ । राज्यले ममाथि झुठो अभियोग लगायो । लक्ष्मणजी दाङमा हुनुहुन्थ्यो । बाबुरामजी सिडियोसँगै थिए, धनीराम काठमाडौंमा हुनुहुन्थ्यो, म बर्दियामा थिएँ, तर आखिर हामीमाथि झुटो आक्षेप किन ? हाम्रै नेतृत्व गरिरहेका वर्ग समुदायहरु जो पछि सरकारमा गए, मन्त्री भए ति त हाम्रा आन्दोलनका संयोजक थिए । तीमाथि राज्यले झुठो मुद्दा किन लगाएन ? किन उनीहरुलाई मन्त्रीको पुरस्कार दियो ? यो कुरा सबैले बुझ्नुपर्छ । हो, यस्तै एकात्मक चिन्तन र खल्तीमा कानुन छ भन्ने प्रवृत्ति रहेछ भन्ने कुरा जनताले महसुस गरे ।

० सरकार तपाईंप्रति नकरात्मक हो कि प्रहरी प्रशासन ?
– सरकार र प्रहरी प्रशासन मप्रति नकरात्मक छैनन् । सरकार र प्रहरी प्रशासन नकरात्मक भइदिएको भए वारिसनामामार्फत् मेरो उम्मेदवारी दर्ता हुने थिएन । सरकार नकरात्मक भइदिएको भए हामीलाई क्षतिपूर्ति पनि दिने थिएन । तर केही उत्छङ्खल तत्वहरु मात्रै हाम्रा विपक्षमा छन्, जो सामाजिक सद्भाव विथोल्न चाहन्छन्, जो स्थानीय विकासलाई टेवा पु¥याउन चाहदैनन, जो सामन्तीय सोच राख्छन् तिनै प्रवृत्तिले मात्र हामीलाई दमन गरेको हो । सरकार र प्रहरीले हामीलाई सहयोग गरिरहेकै छ ।

० रेश्म चौधरी छाती फुकाएर सदनमा आउँछ ?
– कसले रोक्छ ? रेश्म चौधरी छाती फुकाएर सदनमा पुग्छ । एउटा प्रकृयागत ढंगले यो देशको कानुनलाई सम्मान गर्दै संसदीय प्रणालीमा भाग लिन्छु ।

० के प्राथमिकतामा अब के पर्छ ?
– सबैभन्दा ठूलो कुरा पर्यटन, स्थानीय विकास, शिक्षा र स्वास्थ्य मेरा प्राथमिकतामा छ । २०४८ सालदेखि २०७४ सम्म एउटै व्यक्तिलाई चुनिरहने प्रवृत्ति, नयाँ नेतृत्व चयन गर्न नचाहने प्रवृत्ति अन्त्य हुनुपर्छ । फ्रान्सको उदाहरण हेर्न सकिन्छ । ३१ वर्षको व्यक्ति राष्ट्रपति भएको छ । नेपालमा पनि नयाँ नेतृत्वको खाँचो छ । जनताले केही ठूला दललाई सजाय पनि दिइसकेका छन् । परिवर्तित नेतृत्वका लागि हामीजस्ता युवालाई सदनमा पठाउनुपर्छ । हाम्रो वर्ग समुदायले हिजोको दिनमा शासक प्रवृत्तिका थारुहरु पराजित बनाइदिएका छन् । यो देशको ठूला दलले थारुहरुबाट राजनीति सिक्नुपर्छ । राजनीति पाठ सिक्नुहोस् । देख्नुभयो अहिले ? गोपाल दहित, रामजनम चौधरी, जनकराज चौधरीलाई थारुहरुले हराइदिए । विजय गच्छदार हार्नुको कारण यिनबाट अब हाम्रो वर्ग समुदायको उन्मुक्ति छैन । यिनीहरु २०४८ सालदेखि दर्जनौं पटक मन्त्री भए, हाम्रो समाज र समुदायलाई न्याय दिएनन । नेपाली कांगे्रसभित्रको खाल्डो हेर्नुस्, जहिले ढर्रैढर्रा, आज पनि उही, भोलि पनि उहीले गर्दा जनता वाक्क भएर जनताले ट्रयाक चेन्ज गरिदिए । प्रत्येक पार्टीमा हेर्नुस् जसले नयाँ नेतृत्वलाई प्रतिस्थापन गर्न खोजेका छन् उनीहरुलाई जनताले मत दिएका छन् । राजनीतिक सचेतना मैले थारु समुदायमा पाएँ ।

० जनतालाई तपाईं चाहिएरै मत दिइएको हो ?
– भावनात्मक रुपमा मलाई जनताले जिताएका होइनन । म भावनात्मक रुपमा काम गरिरहेको छैन । विगत २५ वर्षदेखि पत्रकारितामा छु, २०औं वर्षदेखि मेरो वर्ग र समुदायको सेवा गरिरहेको छु । म एउटा यस्तो सचेत व्यक्ति हो, जसले नेपालमा सबैभन्दा पहिले थारु भाषाको कविता, गीति एलम्बम मेरै नामबाट प्रकाशित भयो, थारु भाषाको पहिलो गायक मै हुँ । ऐतिहासिक चलचित्र कमैया मैले बनाइ दिएको हुँ । कमैया, कमलरी जस्ता समस्या बुझ्दै लड्दै यहाँसम्म आइपुगेको हुनाले मात्रै मलाई जनताले जनप्रतिनिधि बनाएका हुन् ।

० जनअपेक्षा पूरा गर्न खरो रुपमा उत्रन सक्नुहुन्छ ?
– खरो र दह्रो रुपमा उत्रेर जनअपेक्षा पूरा गर्छ । खरोको परिभाषा छोड्नुस, दह्रोमा जानुस् । अबको ५ वर्षभित्र ट्रयाक चेन्ज गर्न सकेनौं भने हामी भएको नभएको केही फरक पर्दैन । हामी बिसौं वर्षका पुराना कागज लिएर नयाँ अक्षरमा कविता संग्रह तयार गर्न सक्दैनौं । नयाँ रचनाका लागि नयाँ कागज चाहिन्छ, कोरा कागज र कोरा कमल चाहिन्छ, बुझ्नुभयो ?

० तपाईं निर्वाचित भएको ठाउँमा अरु समुदाय पनि छन् नि ?
– मलाई थारु समुदायले मात्र मत दिएर विजयी बनाएका होइनन् । मलाई पहाडी र अन्य समुदायले पनि मत दिनुभएको हो । एउटा समुदायले हाम्रो समुदायको पहिचान र अस्तित्वका लागि लडाइँ लड्छ भनेर मत दिनुभएको छ भने अर्को समुदायले कुशल नेतृत्वको खाँचो छ, यो कुशल नेतृत्वको आवश्यकता नै रेश्म चौधरी हो भनेर मत दिएका छन् । दुवै समुदायलाई म सम्मान गर्छु । म कूलिन वर्गको नेता बन्न चाहन्न । हाम्रो देशको पहिचान, भूगोल र संस्कृतिलाई सम्मान गर्नुपर्छ । एकले अर्काको संस्कृतिमा धावा बोल्ने प्रवृत्तिका कारणले आज यो अवस्था सिर्जना भएको हो । सबैले सबैका संस्कृतिलाई सम्मान गर्न सिकियौं भने समृद्धि नेपालको कल्पना गर्न सकिन्छ ।