७ बैशाख २०८१, शुक्रबार
Follow Us

त्रुटी केलाउ, त्यसपछि विशेष महाधिवेशन : शंशाक कोइराला, महामन्त्री नेपाली कांग्रेस

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७४, बुधबार ०५:५१

विशेष महाधिवेशन र महासमिति बैठकअघि नै नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्वाचन परिणामको समीक्षा गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले बताए । हारको सम्पूर्ण दोष पार्टी सभापतिलाई मात्र दिन नहुने महामन्त्री कोइरालाको धारणा थियो । बाम गठबन्धन र नेपाली पार्टीभित्रको कमीकमजोरीलाई दृष्टिगत गर्न नसक्दा पराजित भएको निष्कर्ष महामन्त्री कोइरालाको छ । यिनै विषयमा सहकर्मी प्रदीप घिमिरेले महामन्त्री कोइरालासँग गरेको कुराकानी–

० निर्वाचन परिणामलाई कसरी हेर्नुहुन्छ ?
– बाम एकता एउटा फ्याक्टर भयो, उनीहरु मिलेर चुनाव लडे । दोस्रो कुरा हाम्रो पार्टीको कमीकमजोरी दृष्टिगत गर्नुपर्ने थियो, त्यो गरेनौं ।

० तपाईंहरुले पनि लोकतान्त्रिक गठबन्धन बनाउनुभएको थियो त ?
– लोकतान्त्रिक गठबन्धन प्रभावकारी देखिएन । राप्रपा र राप्रपा (प्रजातान्त्रिक) सँग हामीले गठबन्धन गरेका थियौं । हामीले मधेशी दलहरुसँग पनि गठबन्धन गर्नुपर्ने थियो, तर गर्न सकेनौं ।

० लोकतान्त्रिक गठबन्धनमा मधेशी दल किन अटाएनन ?
– गठबन्धन बनाउन हामीले धेरै गृहकार्य गर्नुपर्ने थियो, त्यो गर्न सकेनौं । अन्त्यमा १०–११ स्थानमा सहमति गर्न सकिन्छ कि भनेर प्रयास पनि गरिएकै हो । तर धेरै ढिलो भइसकेको रहेछ । तसर्थ मधेशी दल लोकतान्त्रिक गठबन्धनमा समेटिएनन् ।

० नेपाली कांग्रेस अव के गर्छ ?
– अब नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएर निर्वाचनको समीक्षा गर्नुपर्छ । त्यही बैठकमा भावी रणनीति बनाउनुपर्छ । अब हामी विपक्षमा हुन्छौं । पहिला त्रुटी केलाऊ त्यसपछि रणनीति बनाउँछौं ।

० समीक्षाका लागि केन्द्रीय समिति पर्याप्त हो ?
– यो समीक्षा पहिला केन्द्रीय समितिमा छलफल गर्नुपर्छ । प्रारम्भमा हामीले केन्द्रीय समितिको बैठकमा छलफल गरौं, त्यसपछि महासमिति हुन्छ वा विशेष अधिवेशनतिर जान सकिन्छ ।

० युवाहरुमा चरम निराशा देखिएको छ, यसलाई कसरी सम्बोधन हुन्छ ?
– कांग्रेस हारेको निराशा देशभरि नै छ । अब हामीले तरंग उत्पन्न गर्नुपर्छ । समीक्षा बैठक बसेर त्रुटी केलाएर सबैलाई सम्बोधन हुने गरी रणनीति बनाउनुपर्छ ।

० कांग्रेस पराजित हुनुमा नेतृत्व दोषी छैन ?
– के भन्ने ? हामी नेताहरुलाई नै दोषी देख्छौं । सतही रुपमा दोष लगाउनु हुँदैन, तथ्यांक हेर्नुपर्छ, यदि दोषी भेटिए कारवाही हुनुपर्छ । एक आपसमा आरोप प्रत्यारोप गर्नुभन्दा पनि अहिलेको अवस्थामा हामी एक जुट भएर अगाडि बढ्नुपर्ने अवस्था छ । केन्द्रीय समितिको बैठकमा जे निर्णय हुन्छ, त्यसैलाई शिरोधार्य गरेर हामी अगाडि बढ्छौं ।

० कांगे्रस एजेन्डाविहिन हो ?
– होइन, हामीले समृद्ध नेपालको एजेन्डा लिएर निर्वाचनमा गएका थियौं ।

० समृद्ध नेपालको एजेन्डा लिएर जनतामा जानुभन्दा बाम गठबन्धनविरुद्ध विष बमन मात्रै सुनियो नि ?
– यो कुरा पनि एक हिसाबले ठीकै हो । तर हामीले समृद्धीकै बाटो तय गरेका थियौं । बाम एकताले साम्यवादी शासन ल्याउँछ भनेर शीर्ष नेताहरुले भन्नुभयो तर, हाम्रो बाटो समृद्धिको थियो । नेपाली कांगे्रसले विगत २५ वर्षमा धेरै राम्रा काम पनि गरेको थियो । ०४८ सालमा ८ हजार किमी बाटो थियो, अहिले ८१ हजार किमी बाटो बनेको छ, पहिला एउटा मेडिकल कलेज थियो, अहिले २० वटा छ । अहिले १० वटा विश्वविद्यालय भएको छ । कांग्रेसले बनाएको नीतिअनुसार देश समृद्धितिर जाँदै थियो, तर अहिले आएर ठूलो प्रहार भयो ।

० पार्टीभित्रको लोकतान्त्रिक अभ्यास भएन भन्ने गुनासोबारे के भन्नुहुन्छ ?
– त्यसो भन्न मिल्दैन, पार्टी विधानअनुसार नै सञ्चालन भएको छ । पार्टी अधिवेशन हुन्छ, दलको नेता चुनिन्छन् ।

० केन्द्रीय समितिले पूर्णता पाएको छैन, भ्रातृ संस्था परिचालन हुन सकेन, अन्तर पार्टी सम्बन्ध राम्रो भएन भन्नेहरुलाई के जवाफ दिनुहुन्छ ?
– एक हिसाबले यो गुनासा ठीक हो । केन्द्रीय समिति र विभाग गठन गर्न नसकिएकै हो, भ्रातृ संस्थाले चुस्त र दुरुस्त राख्नुपथ्र्यो, नसकिएकै हो । तर, यसैको कारणले कांग्रेस पराजित भएको हो भन्न मिल्दैन ।

० पार्टी सभापतिको मनोमानी दोषी छैन ?
– एक हिसाबले छ पनि छैन पनि । किनभने पार्टी सभापतिले सबैसँग राय सुझाव लिइनै राख्नुभएको हो । धेरै ठाउँमा उहाँले एक्लै निर्णय पनि गर्नुभएको छ, त्यो पनि ठीक हो । टिकट वितरण गर्दा पनि केन्द्रीय समिति बैठकले राय सुझाव दिएकै हो ।

० त्यसो भए किन केन्द्रीय नेताहरुको असन्तुष्टि आयो ?
– पार्टी सभापतिले सबैसँग सल्लाह गरेरै निर्णय गर्नुभएको हो । आकाल झुकाल केही निर्णय सभापतिले एक्लै गर्नुभयो होला । तर धेरैजसो निर्णयहरु पार्टी सभापतिले केन्द्रीय समितिमा नै राख्नुभएको छ ।

० कांग्रेस हार्छ भन्ने थाहा हुँदाहुँदै नेतृत्वले किन रणनीति बनाउन सकेन ?
– हेर्दा त्यस्तो देखिन्छ, तर नेतृत्वलाई सबै दोष थोपरेर समस्याको समाधान हुँदैन । त्यसकारण पहिला समीक्षा गरौं, त्रुटी पहिल्याउ । त्यसपछि मात्र यी सबै प्रश्नको जवाफ दिन सकिन्छ । पार्टी सभापति शेरबहादुर देउवा हुनुहुन्छ, हामी पनि यसमा संलग्न छौं । त्यसकारण दोष उहाँलाई मात्र होइन, हामी सबैलाई जान्छ ।