१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘देउवाले कांग्रेसलाई अझै ड्यामेज गराउँदै छन्’

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७४, शुक्रबार ०६:५२

निर्वाचन पद्धतिको बाहनामा प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएर नेपाली कांग्रेसलाई अझै क्षति पु¥याइरहेको राजनीतिक विश्लेषक डा. राजेश अहिराजको छ । निर्वाचनको मिति घोषणासँगै सरकार काम चलाउ भएकाले विभिन्न नियुक्ति गर्नु अशोभनीय भएको तर्क गर्दै डा. अहिराज भने, कांग्रेसलाई जनताले जुन मत दिए त्यस हिसाबमा प्रधानमन्त्री देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपथ्र्यो । तर यहाँ कार्यकाल लम्ब्याउन खोज्न लोकलाजको विषय बनेको छ । यिनै विषयमा चन्द्र धामीले डा. राजेश अहिराजसँग गरेको कुराकानी–

० अब राजनीतिक स्थायित्व हुन्छ ?
– अझै बाँकी छ, राजनीतिक स्थायित्व माओवादीको भूमिकामा निर्भर रहन्छ । एमालेसँग पार्टी एकीकरण गछौं भनेर जनताको बीचमा मत मागेर आइसकेपछि निर्वाचन सकेको केही घन्टामै विभिन्न खालका शंका उपशंका र दुविधा र अभिव्यक्तिहरु आफैमा चिन्ताको विषय हो । वाम गठबन्धन आफैमा एकीकरणमा जान सक्यो भने यसले दुईवटा संकेत दिन्छ । एउटा मुलुकमा राजनीतिक स्थायित्व निर्माण गर्छ, सरकार ५ वर्षका लागि बन्छ । अर्कोतर्फ मधेश केन्द्रित दल र कांग्रेसलगायतको प्रजातान्त्रिक धारबीच एक खालको एकीकरण र सहकार्यको कुरा अघि बढछ । समग्रमा एउटा बाम गठबन्धन र अर्कोतिर प्रजातान्त्रिक धारको पार्टी भयो भने दुई दलीय व्यवस्था नेपालका लागि अति उत्तम र दीर्घजीवी हुनसक्छ ।

० माओवादी निर्णायक शक्ति ?
– झन्डै हो । किनभने माओवादीको नेतृत्व असाध्य खारिएका र परिवर्तनको पक्षमा आफूलाई उभ्याउन सक्ने क्षमता भएको शक्ति हो । माओवादीमा जे जति व्यक्ति जितेर आएका छन, उहाँहरु वर्गसंघर्ष, वैचारिक संघर्षदेखि लिएर हतियारको राजनीतिसम्म गरेर मुलुकमा म परिवर्तन ल्याउँछु भनेर जनताका बीचमा गएका थिए ।
तर अहिले विभिन्न खालको समाचार सुन्नमा आएको छ । कांग्रेसले पनि माओवादी प्रधानमन्त्री बनोस् भन्ने अफरहरु दिएको सुन्नमा आयो । यदि कांगे्रसको नेतृत्वमा सरकार बन्ने हो भने यो मुलुक फेरि दीर्घकालीन एउटा समस्या र अस्थिरताको चपेटामा जानसक्नेछ ।

० माओवादीको भूमिका के रहन्छ ?
– मुलुक र जनताको पक्षमा हुनुपर्ने हो । विकास र स्थायित्वको पक्षमा हुनुपर्ने हो । तर कार्यशैलीले प्रमाणित गर्छ उसको भूमिका कस्तो हुन्छ ?

० अब मुलुक कसरी अगाडि बढ्ने भन्ने कुरामै विवाद देखियो त ?
– नेपाली कांग्रेसले जुन खालको पराजय भोगेको छ, निर्वाचनको परिणाम आएको केही घन्टाभित्रै प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो । तर उहाँले राजीनामा दिनुको सट्टा धमाधम राजनीतिक नियुक्ति गर्दैहुनुहुन्छ । यसले समग्रमा कांगे्रसलाई नै क्षति पु¥याउँछ । कांग्रेसमा रहेका इमान्दार नेता तथा आस्था बोकेका कार्यकर्ताहरुलाई पीडा दिँदै हुनुहुन्छ । यसले राजनीतिक संस्कार बिगार्दैछ । यदि कांगे्रसले विभिन्न खालको समस्या अगाडि ल्याएर, विभिन्न खालको दफा उपदफा देखाएर समय खेर फाल्छ भने त्यसको क्षति तत्कालीन रुपमा नेपाली जनतालाई र दीर्घकालीन रुपमा कांगे्रसलाई हुनसक्छ ।

० राष्ट्रियसभाको निर्वाचन अघि सरकार बन्छ ?
– निर्वाचनको मिति तोकिएकै क्षणदेखि सैद्धान्तिक रुपमा यो सरकार काम चलाउ मात्र हो । जसले आज संविधानभित्रको सिद्धान्त देखाउँदैछ, त्यसले आफ्नो धरातल हेर्नुपर्ने हो । कानुनसम्मत कुरा धेरै होलान् । जब मुलुकमा नयाँ युगको प्रराम्भ भएको छ, यस्तो समयमा यी र यस्ता खिचलो बाहिर ल्याउनु र विभिन्न खाले द्वन्द्व निर्माण गर्न खोज्नु यसले समग्रमा कांगे्रसको आकार, तेज र कांगे्रसको जुन खालको चुलिएको आधारहरु छन्, त्यो गुमाउनबाहेक केही पाउन सकिँदैन ।

० निकास के ?
– प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने हो । कांगे्रसका धेरै नेताहरुले भन्दै हुनुहुन्छ, हामी प्रतिपक्षको भूमिका हुन्छौं । हामी नागरिकलाई केन्द्रमा राखेर विकास र समृद्धिका कुरामा अब बन्ने सरकारलाई सहयोग गछौं, हामी सचेतकको भूमिका हुन्छौं भनेर उहाँकै पार्टीका धेरै नेताले भनिराखेका छन् । कम्तीमा प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने र अब बन्ने सरकारलाई मार्गप्रशस्त गर्दिनुपर्छ । सकिन्छ, सहयोग गर्ने, सकिदैन भने प्रतिपक्षीको रुपमा बसेर मुलुकलाई अघि बढाउने हो । दल वा व्यक्तिगत स्वार्थका लागि मुलुकलाई नै अवरोध गरिराख्नु, नागरिकको भावनालाई अवरोध गरिराख्नु हुँदैन । निर्वाचनका विभिन्न पद्धतिलाई अगाडि राखेर आफ्नो कार्यकाल लम्ब्यिाउनु लोकलाजको विषय हो ।