७ बैशाख २०८१, शुक्रबार
Follow Us

मत परिणाम स्वीकार गर्न सकिँदैन : प्रदीप पौडेल, के.स., नेपाली कांग्रेस

नेपालब्रिटेन डट कम्
२ पुष २०७४, आईतवार ०५:२०

नेपाली कांगे्रसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफूलाई निर्वाचन आयोग र एमाले मिलेर षड्यन्त्रपूर्ण ढंगले पराजित गरेको आरोप लगाउनुभयो । कानुनी उपचारपछि मात्र आफूले निर्वाचन परिणाम स्वीकार गर्ने नेता पौडेलले बताए । प्राप्त उपलब्धीलाई कांग्रेसले जनतालाई बुझाउन नसक्दा पराजय व्यहोर्नुपरेको निष्कर्ष नेता पौडेलको छ । यिनै विषयमा सहकर्मी हेमप्रकाश वलीले नेता पोडेलले गरेको कुराकानी–

० निर्वाचन परिणाम स्वीकार गर्न सक्नुभएन नि ?
– ५ भोटले पराजय स्वीकार गर्न नसकेर प्रदीप पौडेल चर्चामा आएको हो भन्ने मैले पनि सुनेको छु । त्यस्तो होइन, निर्वाचनमा गोलाप्रथामा पनि पराजित हुनसकिन्छ । म आफैले त्यस्ता घटना बेहोरेर आएको छु ।
अन्तिम ५ वटा बाकस गन्दा, २३ सय २८ मत खसेको भन्ने मुचुल्कामा उल्लेख छ, तर २३ सय ७० मत गनिएको छ । ४२ मत बढी गनेर ५ मतले कसैले जित्यो भनिने कुरा पारदर्शी, मर्यादित र प्रकृयासंगत भएन भन्ने प्रश्न मेरो हो ।
४२ मत कहाँबाट आयो ? भनेर प्रश्न गर्न मैले पाउने कि नपाउने ? ५ मतले निर्वाचनमा विजयी र पराजय भएको छ, ४२ मत थपिएको छ । थपिएको ४२ मतबारे मैले प्रश्न उठाउँदा निर्वाचन मैले स्वीकार नगरेको भन्न कसरी मिल्छ ?

० के गर्दा तपाईंले न्याय पाउनु हुन्छ ?
– मैले जुलुस निकालेको छैन, तोडफोड गरेको छैन, निर्वाचन आयोगको काममा अवरोध खडा गरेको छैन । मर्यादित ढंगले आफ्ना कुरा राखेको छु । सुरुमा मैले निर्वाचन आयोगमा निवेदन दिएँ, त्यसपछि निर्वाचन आयोगले छानबिन गर्छ र विवाद टुंगिन्छ भन्ने मलाई लागेको थियो । तर निर्वाचन आयोगले त्यस्तो केही गरेन । मैले निवेदन दिएको ३० मिनेटमै आयोगले फैसला ग¥यो, विजयीलाई प्रमाणपत्र दियो । कानुनी उपचार के हुन्छ, कानुनविद्हरुसँग परामर्श गरिरहेको छु । मेरा पार्टीका नेता, कार्यकर्ता र साथीहरुसँग छलफल गरिरहेको छु । कानुनले जे व्यवस्था गरेको छ, त्यहीअनुरुप अघि बढ्ने सोच बनाएको छु । आजका मितिसम्म म दुविधामै छु, यही गर्छु भन्नसक्ने स्थिति छैन ।

० निर्वाचन परिणाम तपाईंले स्वीकार नगर्दैमा के फरक पर्छ ?
– कानुन, नियम, घटना, पद्धति सबैले काम गर्छ भन्ने मलाई लाग्छ । कसैलाई मन लाग्यो भन्दैमा प्रमाणपत्र दिने, मन लागेन प्रमाणपत्र नदिने पद्धति हाम्रो होइन । निर्वाचन आयोगले गल्ती गरेको छ भन्ने प्रमाण दिएको छु, उहाँहरुले एउटा समस्या प¥यो, कुनै बाकसमा पुगेको थिएन भनेर अनुमानको भरमा जवाफ दिएको कुरालाई कानुनले स्वीकार गर्छ भन्ने मलाई लाग्दैन । कानुनले गरेको व्यवस्थालाई अवलम्बन गरेर अगाडि जाने कुरा उचित हो । यस्तो अन्यायविरुद्ध लड्नुपर्छ, यस्ता विकृति नदोहोरिन वातावरण बनाउनुपर्छ भन्ने मलाई लाग्छ ।

० तपाईंलाई हराउन आयोगका कर्मचारीसमेत लागे ?
– खस्दै नखसेको ४२ मत कताबाट आयो ? ती सबै बाकस निर्वाचन कार्यालयको नियन्त्रणमा छ । मत गणना उहाँहरुले गर्नुभएको छ । चितवनमा माओवादीले मत पत्र च्यातेपछि चाबी लगाएर मत गणना हुन्छ । मतपत्र प्रतिनिधिले छुन पाउँदैन । त्यसकारण उहाँहरुको मिलेमतोबिना कसरी सम्भव छ । मैले निवेदन दिँदादिदै निर्वाचन अधिकृतले छलफल नै नगरी निर्णय लिए । घोषणा गरेर प्रमाणपत्र दिन हतारिने निर्वाचन अधिकृतको विजेताप्रति लगाव देखियो । निर्वाचन अधिकृत र कर्मचारी मलाई पराजय गर्न लागेको घटनाक्रमले देखियो ।

० यो विषयमा कांग्रेस केही बोलेको छैन ?
– जिल्ला कमिटीले वक्तव्य निकालेको थियो, निर्वाचन परिणाम अस्वीकार्य छ भनेर केन्द्रीय कार्यालयले पनि वक्तव्य निकालेको छ । अगाडि जाने सन्दर्भमा कानुनी परामर्श लिइरहेका छौं । हाम्रो अवधारणा बाहिर नल्याएको हो, त्यसो भनेर छोडेछन्, निर्वाचन परिणाम स्वीकार गरेछन् भन्ने होइन ।

० समग्र कांग्रेस पार्टी हारेको हो कि हराइएको ?
– यस्ता घटना छिटफुट मात्रै आएको छ । त्यसैले समग्र निर्वाचन परिणामलाई हामीले विश्लेषण गर्दा नेपाली कांग्रेस पार्टी पछाडि परेको सत्य हो । निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन परिणामप्रति असहमति छैन । हामीले अपेक्षा गरेकोभन्दा कमजोर परिणाम सार्वजनिक भएको छ । यो परिणाम कसरी आयो भनेर समीक्षा र विश्लेषण गर्नुपर्छ । नेपाली कांगे्रस सच्चियो, पुरानोबाट होइन, नयाँ सिराबाट अगाडि बढ्ने शंखघोष गर्दै पार्टी आउँदैछ भन्ने सन्देश दिन जरुरी छ । नेतृत्व पनि समीक्षा गर्न तयारी भएको देखिन्छ । समीक्षाको प्रकृयालाई कसरी लिएर जाने भन्ने विषयमा केन्द्रीय समितिमा बैठक हुन्छ । त्यो बैठकले महासमिति वा विशेष महाधिवेशन अथवा देशभरिका नेता कार्यकर्ताका माँझ समीक्षा गर्ने सोच हामीले बनाएका छौं ।

० कांग्रेस पराजयको कारण के ?
– नेपालको संकटमोचनका लागि नेपाली कांगे्रसको विगतमा जुन भूमिका रह्यो, नमिलेका शक्तिलाई मिलाएर सँगसँगै लिएर जाने भूमिका कांगे्रसले निर्वाह ग¥यो । जनयुद्ध गरिरहेको माओवादीलाई राजनीतिमा ल्याएर संविधानसभाको पहिलो निर्वाचन कांगे्रसले नै गर्यो । ०६४ को संविधानसभाले संविधान दिन सकेन, ०७० मा दिनसक्नुको कारण, ०६४ मा कांगे्रस कमजोर थियो, ०७० मा कांगे्रस बलियो भएर आयो । संविधान जारी भइसकेपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नुभयो, जारी भएको संविधान कार्यान्वयन गर्न उहाँले केही गर्न सक्नुभएन । जब कांगे्रस सरकारमा गयो, त्यसपछि मात्र संविधान कार्यान्वयनको प्रकृया अघि बढ्यो । यो कुरा हामीले जनतालाई बुझाउन सकेनौं ।
घोषणापत्रमा हामीले प्रगतिशील कुरा धेरै लेखेका छौं, सामाजिक दायित्वलाई फराकिलो बनाएका छौं । यो कुरा पनि हामीले जनतालाई राम्ररी बुझाउन सकेनौं । नमिलेको राजनीतिलाई मिलाउने अवस्था सिर्जना भयो भने मात्र नेपालमा स्थिरता प्राप्त हुनसक्छ, त्यो बहुमत वा अल्पमतले होइन, जसले समन्वय गर्छ वा समन्वयकारी क्षमता भएको शक्तिले मात्र नेपाललाई स्थिरता दिनसक्छ भन्ने कुरा पनि हामीले जनतालाई बुझाउन सकेनौं ।
हामीसँग भएको कुरा जनतालाई बुझाउन नसक्दा यो परिणाम आयो । अर्को कुरा कांगे्रससँग प्रतिस्पर्धामा रहेको एमाले पार्टीले तेस्रो ठूलो दल माओवादीसँग मिल्यो । दुईवटा पार्टी मिलेर बनेको शक्ति ठूलो हुन्छ भन्ने अनुमान जनताले गरे । दुईवटा पार्टी मिलेर बनेको शक्तिले बहुमत ल्याउँछन र नेपालमा स्थिरता आउँछ । नेपाली जनताको चाहना स्थिरता थियो, त्यो स्थिरता बाम गठबन्धनबाट प्राप्त हुन्छ भन्ने कुरा नेपाली जनतालाई लाग्यो । त्यो लागेका कुरालाई हामीले चिर्न सकेनौं ।