७ बैशाख २०८१, शुक्रबार
Follow Us

हिरो रिटर्न्स रिलिज, फेब्रुअरीमा लण्डनमा

नेपालब्रिटेन डट कम्
९ पुष २०७४, आईतवार ०९:२३

काठमाडौं । फिल्म ‘हिरो रिटर्न्स’को अफिसियल रिलिज घोषणा भएको छ। निर्माण सम्पन्न भएको लामो समयसम्म फिल्म रिलिजको बाटो तय नभएको चर्चा चल्दै गर्दा निर्माण टिमले फिल्मको रिलिज लक गरेको हो । नयाँ बर्ष २०७५ को बैशाख २८ बाट फिल्म दर्शकमाझ आउनेछ ।

निर्माता समेत रहेका लिड अभिनेता सविन श्रेष्ठले समाचारको पुष्टी गरेका छन् । यो फिल्ममा सविनसँगै रेखा थापा, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायत लिड अभिनयमा छन् । ‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्दै स्टार अभिनेत्रीको ट्याग पाएकी रेखा यो फिल्म रिलिज हुँदा आफ्नै डेब्यू फिल्मको ब्राण्डलाई जिवित राख्ने कोशिशमा हुनेछिन् ।

अभिनेता तथा निर्माता सविनले यसअघि नै फिल्मको सम्पुर्ण काम सकिएको कुरालाई सत्य भन्दै त्यसमा पनि केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र ‘रि सुट’को आवश्यकता देखिएपछि रिलिजमा केहि अन्तर देखिएको बताए । उनका अनुसार फिल्ममा समवेश केहि दृश्यहरु पुनः छायाँकन गरिएको छ ।

‘हिरो’ चल्दाको समयदेखि अहिलेसम्म नेपाली फिल्म हेर्दै आउनुभएका सबै दर्शक लक्षित फिल्म बनाउने हाम्रो लक्ष्य हो त्यसैले उत्कृष्टमा पनि उत्कृष्टता खोज्न केहि दृश्यको लागी पुनः छायाँकनमा गएका हौँ’ सविनले भने । फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।

कमेडी एक्सन जनरा भनिएको फिल्ममा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहनेछ ।

चन्द्र गौतम यो फिल्ममा कार्यकारी निर्माता हुन् । सविन फिल्मस् को ब्यानरमा बनेको फिल्म ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् । फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।

यसैबीच नेपाल रिलिज पुर्व फिल्मको कतार, अष्ट्रेलिया सँगसँगै लण्डन प्रिमियर हुने भएको छ । फिल्मको कतारमा हुने प्रिमियरको जिम्मा विष्णु कार्कीले लिएका छन् भने भिम न्यौपानेको व्यवस्थापनमा अष्ट्रेलिया प्रिमियर हुनेछ । लण्डन सहितका सबै ठाउँमा आउँदो फेब्रुअरीमा फिल्म स्कृनिङ हुने सविनले बताए ।