गजल
1.
घुमाउने घरको त्यो आँगन सम्झी रुन मन लाग्छ
साथी सँगी र बालापन सम्झी रुन मन लाग्छ ।
ढोकाबाट मैले लुकी लुकी चियाउँदै गर्दा
चक्लेट दिने आफन्तजन सम्झी रुन मन लाग्छ ।
चकचक गरी मैले टाउकोमा चोट लगाएपछि
भक्कानिने त्यो आमाको मन सम्झी रुन मन लाग्छ ।
चउरीमा गएर गुच्चा , टकना खेल्दा खेल्दै
गृहकार्य बिर्सेको पल झन् सम्झी रुन मन लाग्छ ।
बाले थाहा पाएपछि गाली गर्लान् भनी फेरि
निन्याउरो पारेको वदन सम्झी रुन मन लाग्छ ।
दाउरा खोज्न जाने भन्दै आमालाई नसोधी
पुगेको त्यो सल्लाघारी वन सम्झी रुन मन लाग्छ ।
भाइ स्कुल पढ्न जाँदा जाने होइन छोरी तिमी
भन्दै होच्याउने त्यो चलन सम्झी रुन मन लाग्छ ।
2.
उम्लिरहेछ रगत देशको पीरले
तिमी नहुँदा सँगै त्यसको पीरले ।
चित्कार छोड्न नि सकेकी छैनन् आमा
घरीघरी लागेको ठेसको पीरले ।
अरे कस्तो जमाना आयो नि भन्छन्
बाबा ,आमा छोरीको भेषको पीरले ।
खाडीमा श्रीमान् पसिना बगाउँदा
श्रीमती रुन्छिन्् नेक्लेशको पीरले ।
भाइभाइमा भ्रातृत्व छैन भने
किन रुन्छ पहाड मधेशको पीरले ।
दिन बित्न गा¥हो लागेको छ मलाई
साथी छट्पटिन्छ निमेषको पीरले ।
सरु पौडेल
बाग्लुङ नगरपालिका १४ नारायणस्थान
हाल– कलङ्की ,काठमाण्डौ