७ बैशाख २०८१, शुक्रबार
Follow Us

के नाजिर हुसेन भारतीय नै हुन् त ?

sarusaru
११ पुष २०७४, मंगलवार ०३:०८

रंगकर्मी तथा अभिनेता मोहम्मद नाजिर हुसेनको नाम पहिलो पटक सुन्दा धेरैले उनलाई भारतीय व्यक्ति सम्झन्छन् । नामले नै कुन देशको व्यक्ति हो भन्ने कुराको अनुमान लगाउने समाजमा नाजिरलाई कतिले ‘भारतीय धोती’सम्मको संज्ञा दिएका छन् । मुस्लिम समुदायमा जन्मिएका नाजिरकी आमा भने हिन्दू हुन् ।

संयोग नै भनौं– डेब्यू फिल्म ‘होस्टेल रिर्टन्स’मा उनले मधेशी पात्रकै भूमिकामा काम गरे । यही फिल्मबाट उनी रातारात त चम्किए तर उनलाई भारतीय र मधेशीको छाप भने नमज्जाले लाग्यो । सामाजिक सञ्जालमा आउने ‘भारतीय धोती’ जस्ता केही कमेन्टले नाजिरलाई निकै चित्त दुखाउँछ । फिल्मीखबर डटकमसँगको एक भेटमा उनले भने, ‘म नेपाली हुँ, मेरो मातृभाषा नेपाली हो । म भारतीय होइनँ ।’

यस्तो भन्दै गर्दा नाजिरको आँखामा गहभरी आँसु देखिन्थ्यो । उनले भने, ‘हजुरबुबाको पालादेखि नै हामी विरगञ्जमा बस्दै आइरहेका छौं । सामाजिक सञ्जालमा मलाई ‘भारतीय धोती’ भनेर कमेन्ट आउँदा साह्रै चित्त दुख्छ । म विशुद्ध नेपाली हुँ । मेरो बुबा मश्लिम हुनुहुन्छ अनि आमा हिन्दू हुनुहुन्छ । मेरो पितृभाषा चाहीँ भोजपुरी हो । हुनत, जीवनमा सधै तारिफ मात्र पनि नहुँदो रहेछ । गालीले पनि धेरै कुरा सिकाउँदो रहेछ ।’

हाल पुष २१ गतेबाट प्रदर्शनमा आउन फिल्म ‘राज्जा रानी’को प्रमोशनमा व्यस्त नाजिर अहिलेका चलेका नायकमध्येका एक हुन् । उनले ‘वीर विक्रम’, ‘तिमीसँग’, ‘गाँठो’ फिल्ममा काम गरिसकेका छन् । उनी आफूलाई नराम्रो भन्नेलाई जवाफ दिएर आफ्नो समय बर्बाद गर्न नचाहने बताउँछन् । उनी अगाडि थप्छन्, ‘नराम्रा कमेन्टले पनि मान्छेलाई धेरै कुरा सिकाउँछ । जसको जति सोच्ने क्षमता हुन्छ त्यसले त्यति नै सोच्ने हो । म नराम्रो भन्नेको पछि लाग्न थाले भने मेरो पहिचान हराउँछ जस्तो लाग्छ । त्यसैले म सधै काममा नै बढी फोकस हुने गर्छु ।’

उनले आफूलाई सामाजिक सञ्जालमा धेरैको नेपाली हिरोइनसँग टाँसिएर ‘नबस’ जस्ता कमेन्ट पनि आउने गरेको बताए । ‘सबैले सोच्ने त्यो ‘एन्टी– हिरोइजम फेस’ मेरो नभएर होला । धेरैले हिरो भन्ने वितिक्कै ठूलो शरीर, राम्रो मान्छे हुन्छ भनेर सोच्नुहुन्छ । मलाई खुसी के कुरामा लाग्छ भने मैले केही कुराको त प्रतिनिधित्व गरिरहेको छु । जुन कुराले मलाई आत्मसन्तुष्टि दिन्छ ।’, नाजिरले भने ।

यम थापा निर्देशित फिल्म ‘राज्जा रानी’मा नाजिरले नायिका केकी अधिकारीसँग रोमान्स गरेका छन् । तराई क्षेत्रमा व्याप्त दाइजो र बाल विवाहको कथामा यो फिल्म निर्माण भएको हो ।

– फिल्मी खबरबाट ।