१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गोपाल किराँतीको नजरमा नारायणकाजी र बादल जुम्रे अवसरवादी

नेपालब्रिटेन डट कम्
१३ पुष २०७४, बिहीबार ०६:१७

माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल जुम्रे अवसरवादी भएको आरोप लगाएका छन् । पार्टी र संगठन बलियो बनाउन कुनै योगदान नदिने तर पार्टीको रगत चुसिरहने प्रवृत्ति यी दुई नेतामा देखिएकाले श्रेष्ठ र बादललाई जुम्रे अवसरवादी भनेको किराँतीले बताए । किराँतीसँग सहकर्मी चन्द्र धामीले गरेको कुराकानी–

गोपाल किराँती
माओवादी केन्द्र, सचिवालय सदस्य, इन्चार्ज प्रदेश–१

० पार्टीप्रति तपाईंको असन्तुष्टि केमा ?
– राजनीतिक कार्यदिशा, पहिचानको मुद्दा र नेतृत्वको कार्यशैलीमा मेरो प्रश्न हो । यी तीनवटा विषयमा मेरो फरक मत छ । संघर्ष अघि बढाइएको छ ।

० एमालेसँगको पार्टी एकता गर्न तपाईंको समर्थन छैन ?
– यो एकता भन्ने लोकप्रिय शब्द उहाँहरुले प्रयोग गरिराख्नु भएको छ । हामी त्यसलाई बिलय भनिरहेका छौं, पार्टी भनेको के हो ? पार्टी केले बन्छ ? यसका आधार हुन्छन् । वर्ग दृष्टिकोण, विचारधारा, रणनीति, कार्यनीति, राजनीतिक कार्यदिशालगायतका थुप्रै विषयवस्तुले पार्टी बनेको हुन्छ । माक्र्सवाद, लेनिनवादको विचाराधारा एमालेले मान्ने कुरै भएन । जसरी पनि एकता भनेको माओवाद छोडेर एकता गर्न खोजिएको प्रष्टै छ ।
माओवादी केन्द्रले अहिलेसम्म उठाएको आएको अर्को मुद्दा हो, पहिचानको । यो पनि एमालेले मान्दैन, त्यो छोडेर नै एकता हुन्छ । केको आधार र केका निम्ति एकता भनेर हामी प्रश्न गरिरहेका छौं । माओवादीको नेतृत्व जो दाम्लो चुँडाएर एमालेतिर हाम्फाल्दैछ, उहाँहरुसँग यसको जवाफ छैन, हामी त्यो जवाफ खोजिराखेका छौं । एमालेले माओवाद र पहिचानको मुद्दा मान्यो भने हामी नाँचेर त्यो एकतामा जाने हो, नत्र गइदैन ।

० एकताका आधार तयार भएको छ ?
– छैन, प्रश्न हाम्रो त्यसैमा हो, जस्तो माओत्सतुङले तीन गर र तीन नगर भन्ने सिद्धान्त दिनुभएको छ, माक्र्सवाद लागू गर, संशोधनवाद होइन, खुला र स्पष्ट हौ, छलछाम र षड्यन्त्र नगर, जुट नफुट । तर अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र एमालेसँगको यो एकतामा ठीक उल्टो गर्नुभयो । माक्र्सवादमा मौनता, असोज १६ गते षड्न्त्र गर्नुभयो र के आधारमा जुट्ने ? अध्यक्ष प्रचण्डले गरेका यी तीन काम हुन् ।
कांगे्रससँग माओवादी केन्द्रको एकता नहुने किन ? सैद्धान्तिक प्रश्न होला, एमालेले कम्युनिष्ट पार्टी त लेख्छ, तर कांगे्रसभन्दा चरम प्रतिक्र्रियावादमा पतन भइसकेको छ । माक्र्सवाद, लेनिनवादमा जुट्ने हो, त्यो मान्दैन भने फुट्ने हो । माओवादी आन्दोलनमा जसले माओवादी र पहिचानको मुद्दा छोड्छ, त्यो पार्टी फुटाउने समूह हो । हामी चाहिँ माओवादी केन्द्र दह्रोसँग समातेर बस्ने भनिरहेका छौं ।

० समाजवादी क्रान्तिका लागि एउटा पार्टी बनाउने भनिरहेका छन् ?
– वाम गठबन्धनमा हाम्रो आपत्ती छैन, एकता भन्ने बिलयमा हाम्रो गम्भीर प्रश्न हो । हामी यो बिलयसँग आतंकित, भयवित र पीडित छौं । समाजवाद भनेको के हो ? कांगे्रसले पनि भन्छ, एमाओवादीको नौं महाधिवेशनले भन्यो, उपेन्द्र यादवले पनि भन्छ, नारायणमान विजुक्छेले पनि भन्नुहुन्छ, तर वाम गठबन्धनले भनेको समाजवाद के हो ? त्यही नै प्रष्ट छैन । त्यसकारण जनतालाई झुक्याउने काम भएको छ । कम्युनिष्टहरुले चाहने वैज्ञानिक समाजवाद हो । यो वैज्ञानिक समाजवादलाई बद्नाम गर्न खोजिएको छ । वाम गठबन्धनले समाजवाद ल्याउँछ भन्ने कुरा हामी रक्तिभर पत्याउन सक्दैनौं । वाम गठबन्धनका प्रमुख खड्ग ओलीलाई माओवादी केन्द्रको प्रश्न हुन्छ, के निजी अस्पताल, बैंक र विद्यालयलाई राष्ट्रिय करण गर्न सक्छ ? श्रमिकवर्गका लागि राष्ट्रिय पूँजी निर्माण गर्न सक्छ ? आउँदो बजेटमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्दाकोष र एसियाली विकास बैंकजस्ता वित्तीय साम्रराज्यवादीहरुको चँगुलबाट नेपाली अर्थतन्त्रलाई मुक्त गर्न सक्छ ? यी ज्वलन्त प्रश्नको सकरात्मक जवाफ नदिइकन समाजवाद हुँदैन ।

० आठौं महाधिवेशन होस् भनेर अध्यक्षलाई पत्र लेख्नुभयो नि ?
– हो, यी प्रश्नहरु भए, हामीले त्यसमा आफ्नो मत राखेका छैनौं । महाधिवेशन गर्ने बेला पनि भयो, १० वटा समूह जुटेर हामी केन्द्र भयौं । त्यसले १३ बुँदे आधारपत्र बनायो, त्यसमा महाधिवेशन गरेर कार्यदिशा निश्चित गर्ने पनि भनिएको छ । माओवादी केन्द्रमा प्रहसन भइरहेको छ, ४२ सयजनाको महाधिवेशन आयोजक समिति छ, तल सबै लथालिङ भए, माओवाद र पहिचानको मुद्दामा गम्भीर प्रश्न उठेको छ । अध्यक्ष प्रचण्डलगायत नेतृत्व तहमा रहनुभएका कमरेडहरुले विश्वास बेचिखाने परिस्थिति सिर्जना भयो, त्यसकारण महाधिवेशन आयोजना गर्न जरुरी छ । त्यो महाधिवेशनको बहुमतले प्रचण्ड कमरेडले भन्नुभएको कार्यदिशालाई पारित गर्छ भने हामी पनि मान्न तयार हुन्छौं । प्रचण्ड मेरो नेता हो, तर उहाँमाथि माओवादी केन्द्र प्रचण्ड प्रा. लि. भन्ने टिप्पणी हुन्छ । मलाई दुःख लाग्छ । प्रचण्ड प्रा.लि. बनाउन खोजेपछि यो कम्युनिष्ट पार्टी हो, यो जनवादी केन्द्रीयताको अभ्यास हुनुपर्छ भनेर हामीले माग गरेका छौं । आठौं महाधिवेशनतर्फ माओवादी केन्द्र अगाडि बढ्छ भनेर आशा गर्न सकिन्छ ।

० माओवादी समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण भइसकेको हो ?
– माओवादी केन्द्र २०७३ साल जेठ ६ गते गठन भयो, यो लगातार राष्ट्रिय महाधिवेशन आयोजक समितिमा छ । त्यसको प्रमुख अध्यक्ष प्रचण्ड हुनुहुन्छ, हामी त्यसका सदस्य हौं, चुनाव आयो, सरकार बन्ने भएकाले पोलिटव्यूरो र सचिवालय पनि बनाइएको छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिको प्रदेश समिति हुन्छ । यो समितिले महाधिवेशन आयोजना गर्नुपर्छ, तोकिएको काम नगरेर भाँडा खोप्टयाउने काम गरियो भने अध्यक्ष प्रचण्डलगायतका नेताहरुको नैतिकतामाथि आजीवनरुपमा प्रश्न उठ्छ ।

० महाधिवेशन नगरेर अभ्यास अर्कोतिर हुँदैछ नि ?
– गठबन्धनसम्म ठीक हो, अन्यथा लिनु हुन्न । कथित एकता वा बिलयको तयारी गरिसकेपछि त्यसमा हामी प्रश्न उठाइरहेका छौं । माओवादी केन्द्रमा हामी तीन खाले छौं, एउटा जुम्रे अवसरवादी, यो भनेको पार्टीलाई पौष्टिक आहारा नदिने, खाली पार्टीको रगत मात्र चुस्ने, अर्को लिखे अवसरवादीहरु र केही क्रान्तिकारीहरु छन् । क्रान्तिकारीहरु महाधिवेशनतर्फ जाऔं, पार्टीलाई सुदृढ गरौं, एकताको सम्बन्धमा छलफल गरौं, महाधिवेशनबाट भाग्न पाइँदैन भनेर जोड गरिरहेका छौं ।
जुमे्र अवसरवादीको गतिविधि मैले स्थायी समिति सदस्य र केन्द्रीय कार्यालय सदस्य भएर देखे । अध्यक्ष प्रचण्डले विचार र राजनीतिको सम्बन्धलाई जे प्रस्ताव ल्याउनु हुन्छ, उफ्रेर समर्थन गर्ने, तर उता मन्त्री बन्ने वा ठूलो मन्त्री बन्ने, कुन मन्त्रालय लिन चाहिँ झिनाझपटी गर्छन् साथीहरु । कम्युनिष्ट पार्टीको जति माथिल्लो तहमा गयो, त्यत्ति त्याग गर्नुपर्छ भन ठान्थे । जति माथिल्लो तहको जिम्मेवारी पायो, उसले धेरैलाई हेर्नुपर्छ । कम्युनिष्ट नभए पनि महेन्द्र मल्लको कथाजस्तै ठानेको थिएँ, तर त्यसको उल्टो रहेछ । त्यस्तालाई हामी जुम्रे अवसरवादी भन्छौं । लिखे अवसरवादी भनेको चाहिँ वैचारिक राजनीति बुझ्न नखोज्ने, बुझे पनि बोल्न नचाहने, बोल्दा पाउनै आँटेको केही कुरा गुम्ला भनेर थरर काम्छन् । तिनीहरुसँग हामी संघर्ष गरिरहेका छौं । जुमे्र र लिखे अवसरवादीको कारण हाम्रा नेता छाडा भएका छन् । प्रचण्ड प्राइभेट लिमिटेड नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल प्राइभेट लिमिटेड भएको छ । हामी त्यसो हुन दिँदैनौं ।