४ बैशाख २०८१, मंगलवार
Follow Us

हलमा फ्लप भएको रुद्रप्रिया युटुवमा हिट

sarusaru
१७ पुष २०७४, सोमबार ०५:०६

पछिल्लो समयमा हलबाट छुट्नासाथ नेपाली फिल्म युट्युबमा रिलिज गर्ने चलन आएको छ । हलमा करोडौँ कमाएका फिल्महरु युट्युबमा पनि सफल हुन्छन् र हलमा औसत भनिएका फिल्मले पनि युट्युबमा दर्शकको राम्रै साथ पाउँछन् । तर, कहिले काँही भने चलेका स्टारहरुको फिल्मले पानी पनि भन्न पाएको हुँदैन चाहे त्यो हलमा होस् या युट्युबमा ।

नायिका रेखा थापा र नायक आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्रप्रिया’ बक्स अफिसमा नमज्जाले चिप्लियो । झन्डै ८ वर्षपछि पर्दामा फर्किएको यो जोडीको फिल्म असफल हुन्छ भन्ने सायदै कसैले कल्पना गरेका थिएनन् । तर, फिल्म हलमा लागेको र उत्रिएको निर्माता स्वयंले पत्तो पाएनन् ।

यो फिल्म युट्युबमा आइसकेको छ । ३ दिन अगाडि इन्टरनेट रिलिज भएको यो फिल्ममाथी ९ लाख ८० हजारभन्दा बढीको नजर परिसकेको छ । हलमा रिलिज भएको छोटो समयमा प्रतिक्षीत भनिएको फिल्म युट्युबमा आएको ‘रुद्रप्रिया’ सम्भवत: पहिलो हो ।

विदेशबाट फिल्मको माग नहुनु र पाइरेसीको डरका कारण फिल्मको डिजिटल पार्टनर बुढासुब्बाले हतार-हतार ‘रुद्रप्रिया’लाई इन्टरनेट रिलिज गरेको हो । अहिले यो फिल्म नेपालको युट्युब ट्रेन्डिङ नम्बर ३ मा पर्न सफल भएको छ । २ हजारभन्दा बढी कमेन्ट प्राप्त फिल्मलाई धेरैले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्मले उठाएको एसिड आक्रामणको कथालाई दर्शकले खुब रुचाएका छन् ।

कतिले रेखा र आर्यनको करिअरकै झुर फिल्म भन्दै कमेन्ट पनि लेखेका छन् । फिल्मले दर्शकबाट युट्युबमा मिश्रित प्रतिक्रिया पाएको छ । जे होस्, इन्टरनेट रिलिजको ३ दिनमा फिल्मले साढे ९ लाखभन्दा बढी ‘भ्यू’ पाउनु भनेको युट्युबमा ‘रुद्रप्रिया’ हिट भएको छ ।

सुदिप बबी भूपाल सिंह निर्देशित यो फिल्ममा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।
– फिल्मी खबरबाट ।