१६ चैत्र २०८०, शुक्रबार
Follow Us

“राधा” अंग्रेजी भाषामा

नेपालब्रिटेन डट कम्
२२ पुष २०७४, शनिबार ००:३५

सतिश चापागाईं ।
कृष्ण धराबासीको चर्चित उपन्यास “राधा” अंग्रेजी भाषामा अनुवाद भएर बजारमा आएको छ । “राधा” २०६२ सालमा प्रकाशित भएको र त्यहि बर्ष मदन पुरस्कार पाएको उपन्यास हो ।

यहि महिनादेखि राधाको अंग्रेजी संस्करण “अमेजन” र “वान्र्स एण्ड नोवेल” मा उपलब्ध छ । अमेजन संसार कै ठुलो अनलाइन बिक्रेता कम्पनी हो भने “बान्र्स एण्ड नोबेल” पुस्तक बिक्री गर्ने ख्याती प्राप्त कम्पनी हो । पुस्तकलाई इन्डियानाको एक्सलिब्रिसले प्रकाशन गरेको हो ।

“अमेजन” र “वान्र्स एण्ड नोवेल” मा उपलब्ध “राधा” को अंग्रेजी संस्करण महेश पौडेल र संञ्जीव उप्रेतीको सहयोगमा प्रकाशित भएको हो । महेश पौडेलले अनुवाद र संञ्जीव उप्रेतीले पनि भाषामा सहयोग गरेको धराबासीले बताए । पौडेल र उप्रेती दुवै साहित्यकार र अंग्रेजी बिषयमा दख्खल राख्ने प्राध्यापकहरु हुन् । उप्रेती चर्चित उपन्यास घन चक्करका लेखक समेत हुन् । धराबासीले भने, “त्यसमाथी यी दुई साहित्यिक हस्तीहरुको मेहेनतले यो अन्तर्राष्ट्रिय स्तरको भएको छ ।”

राधा नेपाली पाठकहरुले धेरै मन पराएको उपन्यास हो । ०६२ सालदेखि आजसम्म दर्जनौं पटक यसको पुनप्र्रकाशन भएको छ । संस्कृत साहित्यको महाभारत कथाकी एक पात्र राधाको जीवनमा यो कृती आधारित छ । उपन्यासमा राधाको जीवनको तीन मुख्य पक्ष प्रेम, युद्ध र सन्यासलाई बिषयबस्तु बनाएर उत्तर आधुनिक लेखन शैलीमा पाठक समक्ष प्रस्तुत गरिएको छ । राधाको आँखाले कृष्णलाई हेरिएको छ । “कृष्णलाई सबैले देवताका रुपमा मात्र हेर्छन । यो उपन्यासमा कृष्णको जीवनबाट देवत्व झिकिएको छ ।” लेखक धराबासीले भने, “पूर्वीय दर्शनमा प्रेम दैहिक थिएन, भावनात्मक थियो । यहि बिषयलाई बर्तमानको नारीवादी चेतनाका दृष्टिकोणबाट हेरिएको छ । पश्चिमा पाठकका लागी यो कौतुहलताको बिषय हो, उनीहरुले रुचिपूर्वक पढ्ने छन् ।”

अंग्रेजी अनुवादले पनि पाठकको धेरै माया पाउने विश्वास गर्दै धरातल अनलाईनसँगको कुराकानीमा उनले भने, “मैले लेख्नेदेखि छाप्ने र अंग्रेजीमा अनुबाद गराएर छाप्नेसम्मका कामहरु गरें । अब यो मेरो मात्र सम्पत्ति रहेन, सबैको भयो । अब तपाईले पनि सहयोग गर्नुपर्यो ।”

नेपाली साहित्यका पाठकहरुले यो कृतिलाई कसरी सहयोग गरिदिउन जस्तो लाग्दछ ? भन्ने हाम्रो प्रश्नमा उनले नेपाली साहित्यका पाठकहरुको लामो बखान गरे । “नेपाली संस्करण हरेक बर्ष १२ देखि १५ हजार प्रति बिक्री भएको छ । नेपाली पाठकको ठुलो साथ र प्रेरणा छ । त्यहि प्रेरणाले मेरो लेखन जारी छ र अंग्रेजीमा अनुवाद गरेर प्रकाशन गरें” धराबासीले भने, “यो पुस्तकलाई हार्ड कपी किनेर वा अनलाईनबाट डाउनलोड गरेर पढ्न सकिन्छ । किनेर पढीदिए पहिलो सहयोग भयो । पुस्तक पढेर रिभ्यु गरिदिनु भयो भने दोस्रो सहयोग भयो । अनि, पढेर रिभ्यु गर्दैगर्दा आफ्ना बिदेशी साथीहरुलाई पनि पढ्न सल्लाह दिनु भयो भने तेस्रो सहयोग हुनेछ ।” उनले थपे, “नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्नुपर्छ भन्ने धेरैको चाहना थियो, त्यो पुरा भएको छ । अब यसमा गर्व गर्दै सबैले आ आफ्नो दायित्व सम्झनु हुनेछ र यसलाई किनेर पढ्नुहुनेछ मेरो यही अपेक्षा छ ।”

धराबासीको सामाजिक संजालमा रम्ने बानी छ । उहाँलाई फेसबुक, फोन र ईमेलमा सम्पर्क गर्न सकिन्छ । साथै, अमेजनको पेजमा रिभ्यु गरेर उर्जा भर्न सकिन्छ ।

धराबासी अहिले अमेरिकाको भर्जिनिया राज्यमा हुनुहुन्छ । पूर्णकालिन लेखक भन्न रुचाउने धराबासीको दैनिकी लेखेर र पढेर बित्ने गरेको छ । यहाँ आएपछि पनि धराबासीले कागजको मान्छे, ग्रेट फल्स, रेड स्क्वायर, तल्लो बाटो र लीलाबोध बजारमा ल्याउनु भएको छ । अब केहि समय राधाको प्रचारप्रसारमा लाग्ने र दुई बर्ष भित्रमा एउटा दर्शनको पुस्तक लेख्ने तयारीमा धराबासी लाग्नुभएको छ ।

बिषयबस्तु र लेखन शैलीका कारण धराबासीको यो पुस्तकले अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति देखाउने सम्भावना छ ।