४ बैशाख २०८१, मंगलवार
Follow Us

कागजपत्रबिहीन आप्रवाशीहरु अमेरिकी भविष्यलाई लिएर चिन्तित हुनु जरुरी छैन : राष्ट्रपति डोनाल्ड ट्रंप

नेपालब्रिटेन डट कम्
१२ माघ २०७४, शुक्रबार ०४:२०

पुरुषोत्तम ढकाल, लसएन्जलस, १२ माघ । राष्ट्रपति डोनाल्ड ट्रंप पहिलो पटक आप्रवाशीहरुको अमेरिकी सपना प्रति उदार देखिएका छन् । अवैध रुपमा अमेरिकामा बसोबास गरिरहेका झन्डै दुई मिलियन कागजपत्रबिहीन आप्रवाशीहरु प्रति पहिलो पटक लचिलो बनेका राष्ट्रपति ट्रंपले बिहिबार व्हाइट हाउसमा कागजपत्र बिहीन आप्रवाशीहरुको अमेरिकी सपना अर्थात् अमेरिकी नागरिकता प्राप्तिको मार्ग सहज बनाउने संकेत गरेका हुन् ।

अशुरक्षित अमेरिकी भविष्य बोकेर अन्यौल र त्राशदीपूर्ण जिन्दगी बाँचिरहेका झन्डै दुई मिलियन कागजपत्रबिहीन आप्रवाशीहरुलाई आगामी एक दशक भित्र अमेरिकी नागरिकता प्राप्तिको मार्ग सहज बनाउने संकेत गरेका राष्ट्रपति डोनाल्ड ट्रंपको आप्रवाशी लक्षित लचकपूर्ण अभिव्यक्तिसंगै दक्षिण अमेरिकी, दक्षिण एशियाली र नेपाली अमेरिकन समुदायमा खुसीको संचार छाएको छ ।

राष्ट्रपति ट्रंपको यो घोषणासंगै कुनै समय अमेरिका प्रवेश गरेका झन्डै ६.९ मिलियन बालबालिका सहितका कागजपत्रबिहीन आप्रवाशीहरु लाभान्वित हुनेछन् । यस अघि कागजपत्रबिहीन आप्रवाशीहरुको हितमा सहन २००१ मा निश्चित सर्त सहित नागरिकता प्रदान गरिने ‘ड्रिम एक्ट विधेयक’ अमेरिकी काँग्रेसमा प्रस्तुत गरिएको थियो यद्यपी त्यो विधेयक काँग्रेसबाट अनुमोदन हुन सकेन ।

बिहिबार व्हाइट हाउसमा राष्ट्रपति ट्रंपले कागजपत्रबिहीन आप्रवाशीहरु प्रति पहिलो पटक लचिलो हुँदै भने, ‘अमेरिकी अध्यागमन नीतिमा विस्तारै सुधार गरिदै लगिने छ । यस्तो सुधार आगामी १० देखी १२ बर्ष भित्र हुनेछ ।’ राष्ट्रपति ट्रंपले यसलाई सांकेतिक रुपमा आप्रवाशिको कडा मेहनतको ‘इन्सेन्टिभ’ भनेका छन् । ट्रंपले जोड दिएर भनेका छन्, ‘कागजपत्रबिहीन आप्रवाशीहरु अर्थात् उनीहरु अमेरिकी भविष्यलाई लिएर चिन्तित हुनु जरुरी छैन ।’