११ बैशाख २०८१, मंगलवार
Follow Us

बाग्लुङका २ सांसदमाथि हातपात, देबेन्द्र पौडेललाई २ झापड

नेपालब्रिटेन डट कम्
१२ माघ २०७४, शुक्रबार १२:१६

बाग्लुङ । बिहीबार राती बागलुङ जिल्ला क्षेत्र नम्बर २ का दुई सांसदमाथि हातपात भएको छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश ख का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगरमाथि आफ्नै नेताबाट हातपात भएको हो ।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य तुल्सीराम अर्यालले हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । दुई सांसदसँगै पौडेलका अंगरक्षकलाई समेत अर्यालले हात हालेका थिए ।

माओवादी केन्द्रका नेता रहेका सांसद पौडेल र राष्ट्रिय जनमोर्चाका घर्ति संयुक्त वाम गठवन्धनका तर्फबाट हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । उनीहरु दुवैलाई जिताउन अर्याल सक्रियतापूर्वक लागेका थिए । बिहीवार दिउँसो निसीखोलामा आयोजित कार्यक्रममा जाने बिषयमा आफुलाई कुनै खबर समेत नगरेको भन्दै अर्यालले शुरुवातमा पौडेललाई दुई झापड हानेका थिए ।

त्यसलगत्तै धारामा मुख धुन गएका प्रदेश सांसद घर्तीलाई पनि उनले एक मुक्का प्रहार गरे । हातपात गर्ने क्रममा होटलको केही शिशा पनि फुटेको छ । तर दुवै सासंद संयमित भएकाले थप अप्रिय घटना केही हुन पाएन ।

सांसदमाथिको हातपात तथा दुव्र्यवहारबारे प्रश्न गर्दा माओवादी नेता अर्यालले घटना स्वीकार गरे । ‘यो हामीलाई दास सोच्दा र बनाउँदाको अभिव्यक्ति हो’, माननीयद्वयलाई कुट्नुको कारण स्वीकार्दै अर्यालले भने, ‘हामी यिनीहरुलाई जिताउन चाहिने, दिलोज्यान दिएर हिड्नुपर्ने, अहिले चुनाव जितेपछि कार्यक्रममा जाँदा समेत वास्ता नगर्ने ?

यस क्षेत्रमा प्रभावशाली राजनीतिक छवि भएका अर्याललाई पार्टीले पटक–पटक झुटा आश्वासन दिँदै आएको छ । २०७० मा माओवादीका तर्फबाट थोरै मतले पराजित अर्याल यसपटक पनि टिकटका लागि सिफारिसमा परेका थिए । तर चुनावको केही महिना अघि नयाँ शक्तिमा लागेर पार्टीमा फर्किएका पौडेलले टिकट पाएपछि उनी असन्तुष्ट बनेका थिए ।