१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रदेश ६ मा अपांगताको कोटामा सपांग वाम उम्मेदवार

नेपालब्रिटेन डट कम्
१२ माघ २०७४, शुक्रबार १५:०९

काठमाडौं । एमाले–माओवादी गठबन्धनले प्रदेश ६ बाट राष्ट्रियसभा चुनावका लागि सपाङ्ग व्यक्तिलाई अपांगता कोटाबाट उम्मेदवार बनाएपछि निर्वाचन आयोगमा उजुरी परेको छ । एमाले माओवादी गठबन्धनका राष्ट्रियसभाका उम्मेदवार जीवन बुढासँग अपाङगता भएको कुनै प्रमाण नभई आरक्षित कोटा (अपाङगता) बाट उम्मेदवार बनाएपछि निर्वाचन आयोगमा उजुरी परेको हो ।
बुढा अपांग नभएको भन्दै नेपाली कांग्रेसका उम्मेदवार गोपालप्रसाद शर्माले प्रदेश निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् । शारीरिक रुपमा अपांगता नभएका बुढाले अपांगताको प्रतिस्पर्धामा योग्य नभएकाले बुढाको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन कार्यालय सुर्खेतमा उजुरी दर्ता गराएको नेपाली कांग्रेसका उम्मेदवार शर्माका नातेदार एकराज शर्माले बताए । उनका अनुसार अपांगता नभएको व्यक्तिले फर्जी कार्ड बनाइ उम्मेदवारी दर्ता गरेको हुँदा खारेज गरी पाउँ भनी उजुरी दिइएको छ । निर्वाचन आयोगले कानुनी परामर्शपछि निर्णय लिने बताएको छ ।
नरहरिनाथ गाउँपालिका–३ कालिकोट घर भएका बुढा माओवादी जनयुद्धमा जनमुक्ति सेनामा कार्यरत थिए । युद्धका क्रममा उनलाई सामान्य चोटपटक लागेको थियो । उनी सोही समयमा सामान्य उपचार गराएका थिए । अहिले पनि उनी सामान्य अवस्थामा छन् । उनलाई अपांगता भएको भन्ने आधार कतै भेटिदैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पछिल्लो पटक प्रधानमन्त्री भएका बेला उनी स्वकीय सचिवका रुपमा काम गरे ।
समाचारस्रोतका अनुसार माओवादी केन्द्र कालिकोट जिल्ला पार्टी कमिटीले बुढालाई खुल्लातर्फको उम्मेदवार सिफारिस गरेको थियो । पछि उनलाई अपांगता कोटामा पठाइयो ।