१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यसरी सञ्चालन हुनेछ प्रदेशसभा

नेपालब्रिटेन डट कम्
१३ माघ २०७४, शनिबार ०९:११

काठमाडौं । संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनलाई व्यवस्थित तुल्याउन सजिलो होस् भनेर अन्तरिम कार्यविधिको मस्यौदादेखि सभास्थलमा कुर्सी राख्ने तरिका समेतका विषय समेटिएको दिग्दर्शन नै बनाएर पठाएको छ । विधि र प्रक्रियाका हिसाबमा प्रदेश सञ्चालनमा कुनै कमजोरी नहोस् भनेर अन्तरिम कार्य विधि समेटिएको दिग्दर्शन नै बनाएर पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रदेशसभा संरचना हाम्रो मुलुकमा नितान्त नौलो अभ्यास भएको हुँदा पहिलो बैठक र यसले गर्ने निर्णय आगामी दिनका लागि नजिरका रुपमा हेरिने हुँदा संघीय संसद् सचिवालयले पनि यो विषयलाई गम्भीरताका साथ लिएको छ– उहाँले भन्नुभयो । प्रदेशको व्यवस्थापिका एक सदनात्मक हुनेछ जसलाई प्रदेशसभा भनिनेछ ।

प्रदेशसभाका ६० प्रतिशत सदस्य पहिलो हुने निर्वाचित हुने र ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित भएको घोषणासँगै सातवटै प्रदेशसभा गठन भइसकेको छ । प्रदेशसभाको गठनसँगै प्रदेशसभाका सदस्यले शपथसमेत लिई सक्नुभएको छ ।

प्रदेशमा कायम रहेको जनसंख्या र भूगोल आदिका कारण प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यको संख्या भने फरकफरक रहेको छ । बैठक सञ्चालनको विधि र प्रक्रियासहितको अन्तरिम कार्यविधिको मस्यौदालाई प्रदेशसभाको पहिलो बैठकले अनुमोदन गर्ने छ । उक्त अन्तरिम कार्यविधिले शुरुवातका दुई महिनासम्म कार्य सञ्चालन गर्न निकै सघाउ पुग्ने प्रवक्ता डा गौतम बताउनुहुन्छ ।

धेरैजसो प्रदेशसभाको बैठक आह्वान भए पनि सभाहल र जनशक्तिको भने अझै व्यवस्थापन हुन सकेको छैन । सभा सञ्चालनका लागि विशेषज्ञ जनशक्ति तथा रेकर्डिङ र ध्वनि नियन्त्रणजस्ता अत्याधुनिक प्रविधियुक्त कक्षको आवश्यकता पर्दछ । निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखबाट प्रदेशसभाका बैठक आह्वान भएका हुन् ।

संघीय संसद् सचिवालले प्रदेशसभा विधि र प्रक्रियाअनुरुप सञ्चालन गर्न सभामुख, प्रदेशसभा सचिव, सत्तापक्ष, सरकारका मन्त्री र प्रतिपक्षका लागि तयार गरिएको कुर्सी व्यवस्थापन ढाँचा ९लेआउट०लगायतका विषयमा एकरुपता कायम होस् भन्नका लागि सहसचिवको नेतृत्वमा अन्य प्राविधिक कर्मचारीलाई प्रशिक्षण दिएर खटाइसकेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखबाट बैठकको आह्वान गर्दा संविधान सम्मत होस् भन्नका लागि संविधानको धारा वा उपधारा उल्लेख गर्नुपर्ने तथा सभामुखको चयन, सरकार गठनजस्ता विषयमा पनि विधि, प्रक्रिया र सुझबुझका साथ अघि बढ्दा मात्र फलदायी हुन सक्ने विज्ञको भनाइ छ ।

प्रदेशसभाका बैठक कति अनुसाशित र मर्यादित होला भन्ने विषय अहिले सबैको चासो बन्न पुगेको छ । प्रदेशसभाको पहिलो बैठकको मुख्य कार्यसूची भनेको अन्तरिम कार्यविधि अनुमोदन र सभामुखको निर्वाचनको मिति तोक्ने नै हुनुपर्दछ– प्रवक्ता गौतम भन्नुहुन्छ ।

प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ । सभामुखको निर्वाचन हुनअघि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने छ । ज्येष्ठ सदस्यका अध्यक्षतामा बस्ने परामर्श समिति र अन्य बैठकले आगामी दिनको कार्यसूची तय गर्ने छ ।

संघीय संसद्को जस्तै, प्रदेशसभाको पहिलो बैठकको प्रारम्भमा राष्ट्रिय धुन प्रस्तुत हुनका साथै मुलुक र जनताका खातिर राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा सहादातप्राप्त शहीदको सम्मानमा मौन धारणपछि मात्रै अन्य कार्यसूचीमा प्रवेश हुनेछ ।

– नारायण न्यौपाने