११ बैशाख २०८१, मंगलवार
Follow Us

मधेश केन्द्रित दल सरकार गठनको जोड घटाउमा

नेपालब्रिटेन डट कम्
१३ माघ २०७४, शनिबार १३:०२

काठमाडौं । तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन् । प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)ले पदीय भागबण्डाका विषयमा अनौपचारिक रुपमा केही खाका तयार पारे पनि त्यसलाई मूर्तरुप भने दिन सकेका छैनन् । मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको तर ठोस सहमतिमा पुग्न नसकेको ती दलका नेताहरु बताउँछन् ।

दुवै दलले आगामी माघ २१ गते बोलाइएको प्रदेशसभा बैठकलगत्तै सरकार गठनको प्रक्रिया शुरु गर्ने जनाएका छन् । समानुपातिकतर्फको प्रदेश सांसदको निर्वाचन परिणाम आइसकेपछि सरकार गठनबारे अनौपचारिक छलफलमा दुवै दल जुटेका छन् । प्रदेशसभा बैठकलगत्तै मुख्यमन्त्री, सभामुख चयनलगायतका प्रक्रिया अघि बढ्ने राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले बताए । ‘प्रदेश सांसदको निर्वाचन परिणाम घोषणा भएपछि प्रदेश सरकार गठनबारे औपचारिक छलफल त भएको छैन तर आगामी प्रदेश बैठकपछि सरकार गठनको रफ्तार शुरु हुन्छ’ उनले भने ।

संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सांसदको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्ने छ । निर्वाचन आयोगले गत माघ ३ गते प्रदेशसभाका समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेको थियो । कुल १०७ सिट संख्या रहेको प्रदेश नम्बर २ मा राजपा फोरमको बहुमत छ । समाजवादी फोरमको २९ र राजपाको २५ सिट छ । यीमध्ये कुन दलले कस्तो जिम्मेवारी लिनेभन्नेमा दुवै दलमा भागबण्डा शुरु भएको छ ।