८ बैशाख २०८१, शनिबार
Follow Us

अशोकको फिल्ममा स्वस्तिमा र सलोन

sarusaru
१४ माघ २०७४, आईतवार ०३:३४

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले रिजेक्ट गरेको फिल्म ‘कुटुमा कुटु’ गर्ल स्वस्तिमा खड्काले साइन गरेकी छिन् । पुराना निर्देशक, कलाकार एवं निर्माता अशोक शर्माको नयाँ फिल्ममा स्वस्तिमा अनुवन्धित भएकी हुन् । स्रोतका अनुसार, स्वस्तिमालाई फिल्म साइन गर्नु अगाडि साम्राज्ञीलाई पनि फिल्म अफर गरिएको जानकारी थिएन ।

फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक शर्माले साम्राज्ञीलाई फिल्म प्रस्ताव गरिएको स्वीकार गरे । उनले भने, ‘मेरो पहिलो प्राथमिकतामा स्वस्तिमा थिइन् । दोस्रोमा साम्राज्ञी र तेस्रोमा वर्षा राउत । साम्राज्ञीसँग फिल्मको विषयमा कुराकानी पनि भएको हो । तर, उहाँले आफू नयाँ फिल्मको काममा व्यस्त रहेको जानकारी दिनुभयो ।’

उनले अगाडि थपे, ‘साम्राज्ञीपछि मैले सिधै स्वस्तिमासँग कुराकानी गरेँ । उनीसँग मेरो सबै कुरा मिल्यो । फिल्म गर्न उनले इच्छा देखाइन् र समय पनि मिल्यो । त्यसपछि उनले फिल्म साइन गरेकी हुन् ।’ शर्माले वर्षासँग भने फिल्मको विषयमा कुनै कुरा नभएको बताए ।

फाइल फोटो : निर्देशक अशोक शर्मा

फागुन १ गतेबाट छायांकन सुरु हुने फिल्मको नाम अझै टंगो लागेको छैन । खगेन्द्र लामिछानेको कथा र अभिनय रहने फिल्ममा नायक सलोन बस्नेत समेत पक्का भएका छन् । सेन्टिमेन्टल ह्युमर जनरामा निर्माण हुने फिल्ममा राजनराज सिवाकोटीको संगीत रहनेछ ।

अशोक शर्माको निर्देशन र अभिनय समेत रहने फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण केसी, रामचन्द्र अधिकारी, सारदा गिरी लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
– फिल्मी खबरबाट ।