१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने !

नेपालब्रिटेन डट कम्
१७ माघ २०७४, बुधबार ०८:४२

काठमाडौं । निर्वाचनपछि बन्न लागेको बामगठबन्धनको सरकारसँग सम्बन्ध सुधारका लागि भारतले राजनीतिक पहल थालेको छ । नाकाबन्दीपछि विग्रिएको सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने हुनुभएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको बिहीबारदेखि हुने भ्रमणले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारी थाल्ने बताइएको छ । भारतीय स्रोतकाअनुसार फागुनको अन्तिम सातातिर मोदीको नेपाल भ्रमण हुन सक्ने छ । विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्ध सुधार्न र नयाँ सरकारसँग फरक ढंगले सम्बन्ध विस्तार गर्न मोदी भ्रमणमा आउने बताइएको छ । मोदीले धार्मिक भ्रमण गर्नुका साथै नेपाललाई विशेष सहयोगको घोषणासमेत गर्न सक्ने बताइएको छ ।

नाकाबन्दीपछि नेपालमा बढेको भारत विरोधी धारणा र बढ्दो चिनियाँ प्रभाव घटाउन भारत आफैंले स्वराजको भ्रमणको तयारी गरेको बताइएको छ । मोदीले टेलिफोन संवादमा ओलीलाई प्रधानमन्त्रीका लागि अग्रिम शुभकामना दिइसक्नुभएको छ । ओलीले पनि नेपालका धार्मिक स्थलको भ्रमणका लागि मोदीलाई निमन्त्रणा दिइसक्नु भएको छ ।