May 20, 2022
11:13 AM | 3:58 PM
ताजा खबर

महासमिति बैठक बोलाउन नेता कोइरालाको माग

  01/02/2018 मा प्रकाशित

विराटनगर । नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महासमितिको बैठक छिटो बोलाउन माग गर्नुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले व्यापक रुपमा विधानमा संशोधन, संघीय संरचनामा कसरी जाने, क्षेत्र र जिल्लाको अधिकारका साथै क्रियाशील सदस्यतालगायत विषयका साथै महाधिवेशनको तिथि तोक्नुपर्ने भएकाले महासमितिको बैठक आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

लोक कल्याणकारी विचारले वृद्धभत्ता वितरणको आयु घटाइएको भए पनि राज्यले धान्न ‘सक्ने कि नसक्ने’ विषयमा विचार गरेर घोषणा गर्नुपर्ने भन्दै डा कोइरालाले यस प्रकारको निर्णयबाट आपूलाई पनि असजिलो महसुस भएको धारणा प्रकट गर्नुभयो ।

पार्टीको सभापतिको उम्मेदवार हुने विषयमा पत्रकारका प्रश्नमा उहाँले राजनीति गर्ने व्यक्ति भएकाले इच्छा हुनु स्वाभाविक भए पनि कार्यकर्तासँग गहन छलफल गरेरमात्र बताउन सकिने स्पष्ट पार्नुभयो । वाम गठबन्धनकै सरकार बन्नुपर्ने उल्लेख गर्दै उहाँले जनताले नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश दिएको बताउनुभयो ।

प्रतिक्रिया