१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनको १० अर्बको कोषमा किन लगानी गर्ने ?

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार २२:५८


जीवा लामिछाने ।

सामूहिक लगानीबाट परियोजना सफल रुपमा अघिको दृष्टान्त हामी सामू छ । पहिला पनि हामीले कोष स्थापना गरेर सफल बनाएका थियौं, त्यसको अनुभव र अझ धेरैलाई समेटेर अझ ठूलो कोष स्थापना गर्ने गृहकार्य भइरहेको छ । एनआरएन इनभेस्टमेन्ट कम्पनी स्थापना गर्दा जुन किसिमको कठिनाइ थिए, अहिले त्यस्तो कठिनाइ नआओस् भनेर सम्बन्धित निकायसँग समन्वय गरिसकेका छौं ।

अर्थ र परराष्ट्रमन्त्रालयलगायत हाम्रा सरोकारवाला सबैसँग गत डिसेम्बरमा यस विषयमा एक चरणको छलफल भइसकेको छ ।

अहिले बनाउन लागिएको १० अर्बको कोष हो । साना लगानी भएका साथीहरुको पनि त्यसमा सहभागिता गराएका छौं । साना लगानीका लागि तत्काल निश्चित प्रतिशत सेयर छुटाइएको छ । विशेष गरी वैदेशिक रोजगारीमा जानेहरुका लागि सेयर रकम निश्चित गरिएको छ ।
१० अर्ब रुपैयाँको कोष भएकाले त्यहाँ लगानी गर्ने अवसर प्रशस्त छ । ५ प्रतिशतसम्म हामीले निजी क्षेत्रलाई संलग्न गराउनुपर्छ । एनआरएनहरु विदेशमा बस्ने भएकाले नेपालमा परियोजना छनोटदेखि लिएर धेरै कुरामा सहज हुने भएकाले हामीले त्यसमा निजी क्षेत्रलाई पनि संलग्न गराएका हौं ।

नीति नियम बनाउने र कोषलाई आर्थिक अनुशासनमा राख्नका लागि सरकारले पनि त्यो कोषमा ५ प्रतिशत लगानी गर्नुपर्छ । यो कुराहरु पहिलो चरणको छलफल भइसकेको छ । छलफल सकरात्मक भइरहेको छ । बाँकी पैसा एनआरएनका साथीहरुले लगानी गर्ने हो ।

त्यो जम्मा भएको पैसा नेपाल सरकारले प्राथमिकतमा राखेको परियोजनामा लगानी गर्दै जाने हो । यो च्यारिटी फन्ट होइन, त्यो विशुद्ध नाफामुलक कोष हो । नाफा हुन्छ भनेर घरजग्गा खरिद गर्दैन, उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने कम्पनीको उद्देश्य हो ।

बुढीगण्डकी बनाउन अप्ठ्यारो भएपछि सरकारले विद्युत विकास कोष बनाउने निर्णय गरेको छ । ८० प्रतिशत राज्यकोषको पैसा र २० प्रतिशत निजी क्षेत्रको संलग्नतामा यस्तो कोष बनाउने नीति सरकारले लिएको हो । त्यस्तै खालका ४–५ वटा कोष भए प्राथमिकतामा राखेको आयोजना सजिलै अघि बढ्ने थिए । हामीले एउटा मात्र होइन, अरु पनि त्यस्ता परियोजना सञ्चालन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

यो परियोजनाको संयोजन गर्ने काम एनआरएन उपाध्यक्ष कुमार पन्तले गर्नुभएको छ । उहाँले वर्कआउट गर्दै हुनुहुन्छ, वर्कआउट सकिएपछि त्यसपछि तपाईंहरु समक्ष आउनु नै हुनेछ ।

भावनामा आएर कहिले पनि लगानी गर्नु हुँदैन । तपाईंहरुसँग अतिरिक्त पैसा छ भने र आफ्नो जन्मभूमिप्रति केही दायित्व हुन्छ भन्ने लाग्छ र मेरो लगानी सुरक्षित हो भन्ने ठानिन्छ भने मात्र यो कोषमा लगानी गर्नुहोस् ।

(एनआरएन जर्मनीले आइतवार आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै लामिछानेले दिएको विचारको सारअंश)