१५ चैत्र २०८०, बिहीबार
Follow Us

सरकारमा जाने मन्त्रीको टुंगो आइतबार

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७३, शुक्रबार १४:१६

काठमाडौं । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले आइतबारसम्म पार्टीले मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुंगो लगाउने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खतिवडाले भने,‘हामी आईतबारसम्म मन्त्रीको नाम टुँगो लगाउँछौं ।’ पार्टीको भातृ संगठन नेविसंघको महाधिवेशनका कारण पार्टीबाट मन्त्रीमण्डलमा सहभागी हुने साथीहरुको नाम पठाउन ढिलाई भएपनि अब यो विषय आईतबारसम्म टुँगो लाग्ने उनको दाबी थियो । १३ औं महाधिवेशनबाटै पार्टीमा भागबण्डाको राजनीति अन्त्य भएको उल्लेख गर्दै सांसद समेत रहेका खतिवडाले भने,‘महाधिवेशन सकिएलगत्तै भागबण्डाको राजनीति अन्त्य भैसकेको छ, अब हार्नेले माग्ने र जित्नेले दिने कुरा पार्टी्भित्र गर्नुहुँदैन् ।’
संविधान संशोधनमा बजारमा हल्ला भएजस्तो एमालेले सहयोग नगर्ने भन्ने कुरामा आफूलाई विश्वास नलागेको खतिवडाको विश्वास थियो ।
उनले अघि भने,‘एमालेपनि जिम्मेवार पार्टी हो, मलाई लाग्छ एमाले संविधान संशोधनमा बाधक बन्दैन् ।’ मुलुक बनाउने कुरामा एमाले बाधक बन्न नहुने उनको तर्क थियो । ‘‘हलो हट्काएर गोरु चुट्ने काम एमालेले गर्दैन्, उनले थपे ।
काँग्रेस–माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमति लगभग कार्यान्वयन भैसकेको खतिवडाले बताए ।
उनले भने,‘मोर्चासँग भएको सहमति करिव–करिव कार्यान्वयन भैसकेको छ, बाँकी रहेका मागहरु पनि छिट्टै पूरा हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु, यसको लागि हामी वार्ताबाटै सहमति खोज्न तयार छौं ।’ यद्धपी खतिवडाले सहिद घोषणा गर्ने कुरामा भने विचार पुर्याउनुपर्ने धारणा राखे ।
मोर्चा सरकारमा कहिले आउँछ भन्ने जिज्ञासामा उनले थपे,‘प्रधानमन्त्री निर्वाचनमा भोट हालेदेखि नै उहाँहरु आधा–आधी सरकारमा आईसक्नुभएको छ, अब कहिले आउनुहुन्छ भन्ने उहाँहरुको कुरा हो ।’ खतिवडाले संविधान संशोधन भए प्रत्यक्ष निर्वा्चित मात्र प्रतिनिधि सभाको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।